
गोरखाको औसत जीपीए २.३७, वल्डक्यापिटलकी मनिकाको जीपीए ४
गोरखा नगरपालिका ८ को द वल्ड क्यापिटल माध्यमिक विद्यालयकी मनिका सिर्मलले ४ जीपीए ल्याएकी छिन् । गत बुधबार प्रकाशित २०७८ सालको एसईई परीक्षामा सिर्मलले ४ जीपीए ल्याएर जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेकी हुन् ।
गोरखामा चार जीपीए ल्याउने उनी अहिलेसम्मको पहिलो परीक्षार्थी हुन् । यसबर्षको नतिजामा देशभरबाट जम्मा ४२ जनाले मात्र ४ जीपीए ल्याएका छन् । राजधानीबाहेकका जिल्लाबाट ४ जीपीए ल्याउन दुर्लभ छन् । तीमध्य उनी एक हुन् ।
२०७८ सालको एसईई परीक्षामा देशभरबाट चारलाख ७३ हजार एकसय ११ जना सहभागी भएकामा गोरखाबाट चारहजार आठसय २९ जना सहभागी थिए । साधारणतर्फ चारहजार सातसय ५५ जना र प्राविधिकतर्फ ७४ जनाले एसईई दिएका थिए ।
उनीहरुमध्य २०७८ सालको एसईईमा गोरखाको साधारणतर्फको औसत जीपीए २.३७ र प्राविधिकतर्फको औसत जीपीए २.६३ रहेको छ ।
साधारणतर्फ ३७ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । प्राविधिकतर्फ दुई जनाले मात्र ३.६ देखि ४ जीपीए ल्याएका छन् ।




