
जुवा र कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्तहरु पक्राउ
दरौदी : इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले कैद तथा जरिबाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । गोरखा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालयले गठन गरेको विशेष टोलीले फरार रहेकाहरुलाई पक्राउ गर्ने क्रममा सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बुधबार जुवा मुद्धामा जरिबाना तोकिएका पाँचजनालाई पक्राउ गरी अदालतमा पेश गरेको छ । त्यस्तै कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरी अदालतमा पेश गरेको हो । जुवा मुद्दाका पाँच जनासित जरिबाना असुल उपर गरी रिहा गरिएको र कुटपिटमा संलग्न शम्भु बयलकोटी र डिल्लीराम नेपालीलाई कैद सजायँका लागि कारागार पठाइएको छ ।
कुटपिट अंगभंग मुद्दामा दुई महिना तीन दिन कैद सजायँ तोकिएका पालुङ्टार नगरपालिका ३ निबासी बयलकोटी र नेपालीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।




