
राष्ट्रिय परिचय पत्र बनाउन नछुटौँ
गोरखाका ११ वटै स्थानीय तहका वडा कार्यालयहरुमा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु हुँदैछ । साउनको दोस्रो हप्ताबाट प्रत्येक वडामा राष्ट्रिय परिचय पत्र बनाउने टोली जान लागेको हो । त्यसका लागि सबै सामग्री गोरखा ल्याईसकिएको छ ।
प्रत्येक वडामा दुईवटा स्टेशन खडा गरेर राष्ट्रिय परिचय पत्र दर्ता अभियान चल्नेछ । बिभागबाट खटिएका दुईजना अपरेटर, वडा सचिव र एक जना दर्ता सहयोगी हुनेछन् । एउटा वडामा १० दिनसम्म दर्ता शिविर चल्नेछ । एकै समयमा ४० भन्दाबढि ठाउँमा स्टेशन राखेर सेवा सुरु गर्न सक्ने क्षमता गोरखामा छ ।
हाल ‘अनलाइन’ र ‘अफलाइन’ गरी दुई तरिकाले परिचयपत्रको दर्ता गर्ने अभियान संचालन भइरहेका छन् । जिल्ला प्रशासनमा ‘अनलाइन’ बाट र प्रत्येक वडामा संचालन हुने अभियान अफलाइनमार्पmत फर्म भरिने छन् । वडागत रुपमा संकलन गरेको ‘डाटा’ जिल्ला प्रशासन कार्यालयमा ट्रान्सफर गरेर मात्र वेवसाइटमा देखाउँछ ।
अहिले बिहान सबेरैदेखि जिल्ला प्रशासन कार्यालयमा परिचय पत्र बनाउन लाईन लाग्ने सर्वसाधारण धेरै भेटिन्छन् । राहदानी बनाउन परिचय पत्र अनिवार्य भएपछि भीड बढेको हो । एकै दिनमा सेवा पाउन सर्वसाधारणलाई मुस्किल थियो । अब वडाबाट अफलाईन बिवरण भरेपछि भने जिल्ला प्रशासन कार्यालयमा भीड पनि कम हुने भएको छ । वडामा टोली गएका बेला सबैले परिचय पत्र बनाउँदा पछि पुन सदरमुकाम आएर बनाउनुपर्ने झन्झटबाट मुक्त भइन्छ ।
तत्काल परिचय पत्र प्रयोजनको आवश्यकता छैन भने केही दिन पर्खिएर आफ्नो वडाबाटै परिचय पत्र बनाउँदा सहज हुन्छ । अफलाईन प्रविधिबाट परिचय पत्र बनाईने भएकाले केही त्रुटी भएमा तत्काल सच्याउन त्यहाँबाट नै सकिन्छ । तर जिल्ला प्रशासनमा अनलाईनबाट हुने भएकाले त्रुटी सच्याउन सहज छैन ।
परिचय पत्र आवश्यक छैन भनेर नबनाउने सोचमा हुनहुन्छ भने त्यस्तो गल्ती गर्नुहुँदैन । सरकारले नागरिकताको प्रमाण पत्रमा देखिएका कमजोरी हटाउन, नागरिकता भन्दा बलियो प्रमाणको रुपमा लिने गरी राष्ट्रिय परिचय पत्र निर्माण थालेको हो । यो अनलाईन प्रविधिबाट नेपाली नागरिक हो होईन, सम्बन्धित ब्यक्ति हो वा होईन भन्ने बिस्तृत बिवरण यकिन गर्ने माध्यम हो ।
यसले राज्यलाई मात्र फाइदा हुने होईन नागरिकलाई सेवा लिन पनि सहज हुन्छ । फरक फरक परिचय पत्र बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्त हुन सक्छ । डिजिटल हुने भएकाले यसमा भएका बिवरण हराउने वा मेटिने संभावना कम हुन्छ ।




