| सोमवार, कार्तिक २३, २०८३

गोरखाबासीलाई जबर्जस्ती स्तरहीन एम्बुलेन्सको सेवा नदेऊ

गोरखामा ‘थर्ड क्लास’ का एम्बुलेन्स सेवा सञ्चालन भएको तीसौँ बर्ष भइसक्यो । समय विकास भएर धेरै अगाडि पुगिसकेको छ । सेवा, सुविधा विस्तार भइरहेका छन् ।

मान्छेको आम्दानी वृद्धि भएसंगै स्तरीय जीवन यापन गर्न थालेका छन् । महंगा सामान खरिद गरी उपभोग गर्न थालेका छन् । सौखिन सामग्री खरिद गरी उपभोग गर्ने क्षमता बनाएका छन् । देश, विदेश भ्रमण गर्ने क्षमता बनाएका छन् । देश–विदेश भ्रमण गर्दा देखे जस्तो उपभोग गर्ने चाहना राख्ने भएका छन् तर बिरामी भएर अस्पताल जानुपर्ने बाध्यता आयो भने उही ३० बर्ष अघिको झै थर्ड क्लासका एम्बुलेन्स चढ्न बाध्य छन् ।

अहिले गोरखामा चल्ने सबै एम्बुलेन्स ‘थर्डक्लास’का हुन् ।
स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार गोरखामा ५५ वटा एम्बुलेन्स दर्ता छन् । यीमध्ये अहिले ४२ वटा मात्रै संचालनमा छन् । १३ वटा एम्बुलेन्समध्ये तीनवटा गोरखामा नै छैनन् भने बाँकी १० वटा संचालनमा नरहेको पाइएको छ ।
सार्वजनिक निकायको २८ मध्ये २५ वटा मात्रै चलेका छन् भने ब्यक्तिगत, एनजिओ र अन्य गरी २७ मध्ये १७ वटा चलेका छन् । जति एम्बुलेन्स संचालनमा छन् ती सबै ‘ग’ वर्गका अर्थात ‘थर्ड क्लास’का छन् ।

एम्बुलेन्स दर्ता गर्दा सार्वजनिक निकाय होस् या ब्यक्तिगत, संस्थानका सबैले दुई वर्षभित्र ‘ख’ वर्गमा स्तरोन्नति गर्ने प्रतिवद्धता गरेका हुन्छन् । तर अहिलेसम्म गोरखामा कुनै पनि एम्बुलेन्स ‘थर्डक्लास’ बाट ‘सेकेण्ड क्लास’ मा स्तरोन्नति भएका छैनन् । चालकलाई एम्बुलेन्स ठेक्का दिँदै आएका संचालकहरु नै स्तरोन्नतिमा चासो नदिने गरेको पाइएको छ ।
अब ‘ग’ वर्गको एम्बुलेन्सको अनुमति दिन नमिल्ने र ‘ख’ वर्गको मात्रै दिन सकिने व्यवस्था आएको छ । यस नीतिलाई सही ढंगले कार्यान्वयन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्