| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा स्वास्थ्य वीमाप्रति आकर्षण बढदै, स्वास्थ्य वीमा गर्नेको संख्या ४० प्रतिशतले वृद्धि

केशव गुरुङ

गोरखामा स्वास्थ्य वीमा गर्ने घरपरिवारको संख्या बढ्दै गएको छ । स्वास्थ्य वीमा बोर्ड गोरखाको तथ्यांकअनुसार जिल्लामा बर्षेनी स्वास्थ्य वीमा गर्ने परिवारको संख्या बढ्दै गएको देखाएको हो ।

गोरखामा २०७४ सालबाट स्वास्थ्य वीमा कार्यक्रम सुरु भएको थियो । हाल पाँच वर्षको अवधिमा ७६ हजार नौ सय ८६ जनाले वीमा गरेका कार्यालयका प्र्रमुख विशाल लौडारीले बताए । स्वास्थ्य सेवाको फजुल खर्चलाई कम गर्न, स्वास्थ्य समस्याको कारण हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न र अति गरिब, विपन्न वर्ग, अपाङ्गता भएका, जेष्ठ नागरिकको पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य वीमा कार्यक्रम सुरु भएको हो ।

कार्यालयको तथ्यांकअनुसार २०७४÷०७५ मा ६ हजार नौसय २७ जनाले स्वास्थ्य वीमा गरेका थिए । २०७५÷०७६ मा ११ हजार ५ सय ६२ जनाले र ०७६÷०७७ मा १२ हजार आठ सय ६५ जनाले स्वास्थ्य वीमा गरेको कार्यालयले जनाएको छ । २०७७÷०७८ मा १६ हजार नौ सय ४१ जनाले स्वास्थ्य वीमा गरेका थिए भने यो संख्या बढेर २०७८÷७९ मा २६ हजार छ सय ९१ जनाले स्वास्थ्य वीमा गरेका कार्यालय प्रमुख लौडारीले जानकारी दिए । २०७७÷०७८ को तुलनामा २०७८÷७९ मा स्वास्थ्य वीमा गर्नेको संख्या ४० प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।
पछिल्लो समयमा अस्पतालको सेवा सुधारिएको, मानिसहरुमा वीमाप्रतिको जनचेतना बृद्धि भएको, प्रत्येक अस्पतालमा वीमा सेवा लागु गरेको र कम रकम तिरेर बढी सेवा सुविधा पाउने भएकाले स्वास्थ्य वीमा प्रतिको आकर्षण बढ्दै गएको उनले जानकारी दिए ।

हाल सम्म कुन पालिकाका कति जनाले गरे स्वास्थ्य वीमा

११ स्थानीय गोरखामा सबै भन्दा धेरै गोरखा नगरपालिकाका १७ हजार सातसय २५ जनाले स्वास्थ्य वीमा गरेका छन् । पालुङटार नगरपालिकाका १३ हजार नौसय २६ जना, सिरानचोक गाउँपालिकाका नौ हजार एकसय २ जना, आरुघाट गाउँपालिकाका सात हजार पाँचसय ५४ र शहिद लखन गाउँपालिकाका सातहजार एकसय २४ जनाले स्वास्थ्य वीमा गरेको कार्यालय प्रमुख लौडारीले जानकारी दिए । भीमसेन थापा गाउँपालिकाका छ हजार दुईसय ७१ जना, बारपाक सुलिकोट गाउँपालिकामा पाँच हजार आठ सय १३ जना, गण्डकी गाउँपालिकामा पाँच हजार एक जना र अजिरकोट गाउँपालिकामा दुई हजार एकसय १७ जनाले स्वास्थ्य वीमा गरेको उनले बताए । त्यस्तै, धार्चे गाउँपालिकाका १६ सय ३८ जना र चुमनुब्री गाउँपालिकाका सात सय २४ जनाले स्वास्थ्य वीमा गरेको उनले जानकारी दिए ।

चुमनुब्री र धार्चे गाउँपालिकाका स्थानीयहरु आरुचनौटे स्वास्थ्य चौकी धेरै टाढा भएका कारण स्वास्थ्य वीमाप्रति सोचे अनुरुप आकर्षण हुन नसकेको उनले बताए । भौगोलिक विकटताका कारण आउजाउमा बढी खर्च हुने र स्वास्थ्य वीमाबाट पाउने सेवा धेरै टाढा भएका कारण उनीहरु स्वास्थ्य वीमाप्रति आकर्षण हुन नसकेको उनले जानकारी दिए ।

गोरखामा स्वास्थ्य वीमा गर्नेमा पुरुष भन्दा महिला धेरै रहेका छन् । कुल ७६ हजार मध्यमा ३६ हजार छ सय १७ जना पुरुष र ४० हजार तीन सय ६९ महिलाले स्वास्थ्य वीमा गरेको स्वास्थ्य वीमा बोर्ड गोरखाले जनाएको छ ।

गोरखाका हाल पाँच स्थानबाट स्वास्थ्य वीमा सेवा उपलब्ध गराउदै आएको छ । जसमा गोरखा अस्पताल, पालुङटारमा रहेको आँपपिपल अस्पताल, आरुघाटमा रहेको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र, सिरानचोक गाउँपालिकामा रहेको जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र गण्डकी गाउँपालिकामा रहेको मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य वीमाको सेवा दिदै आएका छन् ।

१७ सय भन्दा बढीले वीमा नविकरण गरेनन्

स्वास्थ्य वीमा गर्नेको संख्या बढिरहे पनि नवीकरण गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । चालु आर्थिक बर्षका लागि मात्रै स्वास्थ्य वीमा नविकरण गर्नेको संख्या धेरै रहेको कार्यालय प्रमुखले बताए ।

अघिल्लो वर्ष १२ हजार चार सय २२ परिवारले स्वास्थ्य वीमा गरेकामा १० हजार सात सय ८ परिवारलाई स्वास्थ्य वीमा नविकरण गरेका छन् भने बाँकी १७ सय १४ परिवारले वीमा नविकरण नगरेको उनले बताए ।
स्वास्थ्य वीमा गरेपछि अपेक्षाअनुसार सेवा नपाउनु, भौगोलिक विकटताका कारण स्वास्थ्य केन्द्र धेरै टाढा र आउजाउमा धेरै खर्च हुन्, स्वास्थ्य सेवा लिन घण्टौ लाइनमा बस्नुपर्ने लगायतका स्वास्थ्य सेवा पाउन झन्झटिलो हुने इत्यादि कारण वीमा नविकरण नगरेको उनको भनाइ छ ।

के के सेवा पाइन्छ ?

सरकारले घोषण गरे अनुसार स्वास्थ्य वीमा कार्यक्रमअन्तर्गत ११ सय ३३ प्रकारका औषधी किन्दा पैसा तिर्नुपर्दैन । त्यस्तै, ओ.पि.डि सेवा, इमरजेन्सी सेवा, एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड, अए.आरंआई, सिटी स्क्यान, रगतको जाँच, एपेन्डिक्स अपरेसन, पत्थरी अपरेसन आदि शल्यक्रिया लगायतका सेवाहरु पाइने जनाएको छ ।

लक्षित वर्गलाई छुटको व्यवस्था

लक्षित वर्ग अन्तरगत ७० वर्ष पूरा भएका जेष्ठ नागरिक, अति गरिब, एच.आइ.भी, संक्रमित, कुष्ठरोगी, एम.डी.आर.टी.बी, क वर्गको अपाङ्गता भएका परिवारलाई वीमा गर्दा पैसा तिर्नुपर्दैन । निशुल्क बनाइएको वीमा कार्डबाट उनीहरुले उपचारसेवा पाउने व्यवस्था रहेको छ ।

स्वास्थ्य वीमा गर्न के गर्नुपर्छ ?

स्वास्थ्य वीमा गर्नका लागि हरेक वडामा दर्ता सहयोगी खटिएको हुन्छ । गोरखामा एक सय २ जना दर्ता सहयोगी मार्फत स्वास्थ्व वीमा भइरहेको छ । हरेक वडामा एकदेखि दुई जना दर्ता सहयोग मार्फत स्वास्थ्य वीमा गरिदै आएको कार्यालयले जनाएको छ । दर्ता सहयोगी तपाइकै घरमा आउनुहुन्छ ।

स्वास्थ्य वीमाका लागिठूला व्यक्तिको नागरिकता फोटो कपी र साना बच्चाका लागि जन्मदर्ता आवश्यक पर्दछ । यो कार्यक्रममा सहभागि हुन पाँच जना परिवारले वार्षिक प्रतिपरिवार ३५ सय रुपैया तिर्नुपर्दछ । वीमापश्चात प्रतिपरिवार एक लाख बराबरको स्वास्थ्य सेवा निशुल्क पाउनेछन् । पाँच जना भन्दा बढी सदस्य भए प्रतिसदस्य ७ सय तिर्नुपर्छ । पाँच जना भन्दा बढी परिवारका सदस्य भएमा प्रति थप सदस्य बापत रु २० हजार को सीमा बढ्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस्