| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका प्रत्येक वडामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरु हुँदै

केशव गुरुङ

गोरखाका ११ वटै स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु हुने भएको छ । यहि साउनको दोस्रो हप्ताबाट प्रत्येक वडामा राष्टिूय परिचय पत्र बनाउने टोली जाने राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए ।
‘अहिले तनहुँमा अभियान सम्पन्न भएर सबै सामग्री गोरखा ल्याइसकेको छौँ । अव यहाँका प्रमुख जिल्ला अधिकारीले छलफल गरेर केही दिनमा सबै स्थानीय तहका वडामा पालैपालो गरेर अभियान सुरु गछौ,’ उनले भने । प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा जिल्लाका हरेक स्थानीयहरुमा पालैपालै अभियान सुरु हुने उनको भनाइ छ ।

प्रत्येक वडामा दुईवटा स्टेशन खडा गरेर राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु हुने बताउदै उनले भने, ‘हरेक वडामा दुईवटा स्टेशनबाट राष्टिूय परिचय पत्र भर्ने काम सुरु हुन्छ । त्यसमा विभागबाट खटिएको दुई जना अपरेटर, रुजु गर्ने अधिकारीका रुपमा वडा सचिव र एक जना दर्ता सहयोगी हुन्छ ।’ एउटा वडामा १० दिनसम्म बसेर काम गर्ने उनले जानकारी दिए । एक पटकमा दुई पालिकाका परिचय पत्र दर्ता अभियान सुरु हुने उनको भनाइ छ ।

यो अभियान तनहुँमा सम्पन्न भइसकेको र त्यहाँका जनशक्ति र आवश्यक सामाग्री सबै गोरखा ल्याइसकेको उनले बताए । ‘यसका लागि सबै सामाग्री गोरखा ल्याइसकेका छौँ । ४८ वटा स्टेशनका सामग्री ल्याइसकेको र तीमध्य केही सामान बिग्रिएकाले तत्काल ४० देखि ४२ वटा स्टेशन संचालन गरी काम सुरु थाल्छौँ,’ उनले भने ।

हाल ‘अनलाइन’ र ‘अफलाइन’ गरी दुई तरिकाले परिचयपत्रको दर्ता गर्ने अभियान संचालन भइरहेका छन् । जिल्ला प्रशासनमा ‘अनलाइन’ बाट र प्रत्येक वडामा संचालन हुने अभियान अफलाइन मार्पmत फर्म भरिने छन् । वडागत रुपमा संकलन गरेको ‘डाटा’ जिल्ला प्रशासन कार्यालयमा ट्रान्सफर गरेर मात्र वेवसाइटमा देखाउँछ ।

त्यसैले राहदानी(पासपोर्ट) बनाउन तथा विभिन्न कामका लागि तत्काल राष्ट्रिय परिचय पत्र चाहिनेहरुका लागि जिल्ला प्रशासन कार्यालयमै आएर फर्म भरेर फोटो खिच्न समेत उनले आग्रह गरे । अहिलेसम्म ३६ वटा जिल्लामा अभियान सम्पन्न भइसकेको छ भने १० वटा जिल्लामा अभियान चलिरहेको छ । गोरखा, बाग्लुङ र दार्चुलामा यो हप्ताबाट अभियान सुरु हुने विभागले जनाएको छ ।

टोली करिब तीन महिना गोरखामा रहने बताउँदै यहाँका ७० प्रतिशत जनसंख्यालाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गराउने विभागको लक्ष्य रहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय गोरखाको सहआयोजनामा प्रशासन कार्यालयमा सोमबार राष्ट्रिय परिचयपत्रको लागि वितरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय वैठकमा सो कुरा जानकारी गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकदुई दिनभित्र जिल्लाका सरोकारवाला निकाय तथा स्थानीय तहका जनप्रतिनिधिसँग आवश्यक छलफल गरी अभियानलाई सुरु गर्ने जानकारी दिए । राष्ट्रिय परिचय पत्र आगामी दिनमा अतिआवश्यक र बहुउपयोगी हुने भएकाले यो अभियानमा सबै सरोकारवाला निकाय, जनप्रतिनिधि र स्थानीयबासीहरु सहयोग गरिदिन समेत आग्रह गरे ।

के हो राष्ट्रिय परिचय पत्र ?

नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरिकलाई बहुउपयोगी राष्टिूय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याइएको हो । राष्ट्रिय परिचय पत्रलाई अन्तर्राटिूय मापदण्डको डिजिटल कार्ड भन्दा हुन्छ । राष्ट्रिय परिचय पत्रमा हातको दश औंठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेटिने छ ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झञ्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । कुुनैपनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचय पत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

एकजना व्यक्तिलाई उपलब्ध गराएको राष्ट्रिय परिचय पत्र नम्बर कहिल्यै दोहोरिँदैन । परिचय पत्रको विवरण अनलाइनमा व्यवस्थित गरिए पश्चात बाल बालिकाको जन्म दर्तामा दिइएको नम्वर नै उस्को स्थायी परिचय पत्र नम्वर हुन्छ । र उसले प्राप्त गर्ने सबैखाले सुबिधा सोहि नम्बरमा समाबेश हुन्छन् ।

राष्टिूय परिचय पत्रको विवरण जो कोहिले पढ्न सक्दैन त्यहाँ समेटिएको विवरण हेर्न छुट्टै रिडर मेसिनको व्यवस्था गरिएको हुन्छ । नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई राष्टिूय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखलाई नीति तथा योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र, मतदाता परिचयपत्रको रूपमा काम गर्नेछ भने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । हाल राहदानीमा मात्र परिचय पत्र लागु गरिएको छ ।

आगामि दिनमा नागरिकता, सवारी चालक अनुमतिपत्र, मतदाता नामावली, सामाजिक सुरक्षा, बैक तथा वित्तीय संस्थाको कारोबार, स्वास्थ्य सेवा, राजस्व संकलन, व्यक्तिगत घटना दर्ता र अपराध अनुसन्धान लगायतका क्षेत्रमा समेत राष्ट्रिय परिचय पत्र लागु हुने विभागले जनाएको छ । अवको दुई वर्षभित्र परिचयपत्र पाउन योग्य सबै नागरिकको विवरण संकलन गर्ने र एक करोड नागरिकलाई परिचय पत्र उपलब्ध गराउनुका साथै पाँच वर्ष भित्र सबै नागरिकलाई राष्टिूय परिचयपत्र उपलब्ध गराउने विभागको लक्ष्य रहेको जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन के के लिएर जानु पर्छ ?

परिचयपत्रका लागि आवेदन फारम भर्दा १६ वर्ष उमेर पुगेका नेपालीले सक्कल नागरिकताको प्रमाणपत्रसहित प्रतिलिपि लिएर जानुपर्छ । नेपाली नागरिकले नाम, थर, जन्ममिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम सो फाराममा उल्लेख गर्नुपर्ने विभागका निर्देशक सागरमणि पाठकले जानकारी दिए ।

बाहिरी जिल्लामा नागरिकता बनेको भए बसाइँ सराइको प्रमाणपत्र, जन्ममिति नखुलेको नागरिकताको हकमा जन्ममिति खुलेको प्रमाण, बिबाहित महिला जसको माइतबाट नागरिकता बनेको हकमा बिबाह दर्ता प्रमाणपत्र लिएर जानु पर्ने छ । अनलाइन प्रणालीबाट फरिने उक्तफाराममा औँलाछाप, आँखाको नानी, फोटो, राष्ट्रियता, हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्