
भारतीय राजदूतद्वारा मनकामनाको पूजाआजा
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले मनकामना माताको पूजाआजा गरेका छन् । सोमबार बिहान साँढे ११ बजे गोरखाको मनकामना मन्दिर पुगेर पूजाआजा गरेका स्थानीय भीमबहादुर थापाले जानकारी दिए ।
‘बिहान साँढे ११ बजे आइपुग्नु भएको थियो, एक बजेतिर फर्कनु भयो’, उनले भने ।
राजदूत श्रीवास्तवलाई मनकामनामा उद्योग वाणिज्य संघ, लायन्स क्लव, मनकामना जीर्णोद्वार समिति, मनकामना क्षेत्र विकास समिति, राजनीतिक दल, जनप्रतिनिधि र भारतीय भूपू सैनिक संघका प्रमुख तथा प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
राजदूत श्रीवास्तवले पूजा सकेपछि केहीबेर सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसित अन्तरक्रिया गरेका थिए ।
‘अन्तरक्रियाको क्रममा हामीले आँबुखैरेनीदेखि मनकामना मन्दिरसम्मको पक्की मोटरबाटो निर्माणका लागि माग राख्यौँ’, स्थानीय दिनेश जोशीले भने, ‘यसअघि भारतीय राजदूतावासबाट बनेको हेल्थपोष्ट अहिले जीर्ण भइसकेको छ, त्यसैले त्यसलाई पुनर्निर्माण गर्न, एम्बुलेन्स र हेल्थापोस्टका लागि विभिन्न उपकरणहरु पनि उपलब्ध गराइदिन माग राख्यौँ ।’ साथै मनकामना माविको भवन निर्माण गरिदिन पनि माग गरेको उनले बताए ।


‘एम्बुलेन्स र स्वास्थ्य चौकी भवन निर्माणका लागिचाहिँ वचन दिनु भयो । अरु सहयोगका लागि पछि खबर गर्छौँ भन्नु भयो’, जोशीले भने ।




