| बिहिबार, असार १०, २०८३

गोरखा संग्रहालय घुम्न आउने आगन्तुकको संख्या बर्षेनी बढ्दै, अघिल्लो वर्ष ७६ हजारले संग्रहालय अवलोकन गरे

केशव गुरुङ :

गोरखा सदरमुकामस्थित संग्रहालयमा नेपालको इतिहास बुझन र हेर्न आउनेको संख्या बर्षेनी बढ्दै गएको छ । नेपालको शाहवंशीय राजा र नेपाल एकीकरणका समयमा प्रयोग भएका विभिन्न सामाग्री हेर्न आउनेको संख्या बढ्दै गएको गोरखा दरबार संग्रहालय गोरखाले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा ७६ हजार भन्दा बढीले संग्रहालय अवलोकन गरेको संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए । उनकाअनुसार भदौमा छ सय ९९ जना, असोजमा तीनहजार सातजना, कार्तिकमा सातहजार आठसय ९१ जना, मंसीरमा १४ हजार नौसय ५२ जना र पुसमा ११ हजार पाँचसय ७३ जनाले संग्रहालय अवलोकन गरेका थिए ।

माघमा तीन हजार नौ सय ९४ जना, फागुनमा छहजार चारसय ३३ जना, चैतमा आठहजार ६ सय ३१ जना, वैशाखमा आठहजार एकसय तीन जना, जेठमा छहजार आठ सय तीन जना र असारमा चारहजार दुई सय ४२ जनाले संग्रहालय अवलोकन गरेको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए । जसमध्ये देशभरका विभिन्न विद्यालयबाट आएका २६ हजार एकसय ५२ जना विद्यार्थीले संग्रहालय अवलोकन गरेका थिए । उनीहरुबाट दुईलाख ६१ हजार पाँचसय २० रुपैया राजस्व संकलन भएको छ ।

४९ हजार आठसय जना नेपालीबाट १२ लाख ४५ हजार राजस्व संकलन भएको संग्रहालयले जनाएको छ । त्यस्तै, सार्क राष्ट्रका ५९ जनाबाट दुई हजार नौसय ५० रुपैया र तीनसय १७ जना विदेशी नागरिकबाट ३१ हजार सातसय रुपैयाँ राजस्व संकलन भएको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए ।

त्यस्तै, संग्रहालयभित्र भिडियो क्यामेरा प्रयोग गरी भिडियो र फोटो खिचेबापत १३ जना नेपालीले रु दुई सयका दरले २६ हजार, सार्क राष्ट्रका २४ जनाबाट दुईसयका दरले ४८ हजार र संग्रहालय परिसरभित्र विभिन्न म्युजिक भिडियो र फिल्म छयाङ्कन गरेबापत रु एकहजारका दरलेपाँच जनाबाट पाँचहजार रुपैया राजस्व संकलन भएको उनले बताए । संग्रहालय परिपरि पसलहरु भाडामा दिएबापत एकलाख ६ हजार पाँचसय रुपैयाँ संकलन भएको जनाएको छ । कुल १६ लाख ६८ हजार पाँचसय ७० रुपैया राजस्व संकलन भएको उनले जानकारी दिए ।

आ.ब. २०७६÷०७७ मा ७५ हजार पाँचसय ४८ जनाले संग्रहालय अवलोकन गरेका थिए । त्योवर्ष १५ लाख ७८ हजार आठसय १५ रुपैया राजस्व संकलन भएको थियो । आ.ब. २०७७÷०७८ मा भने कोभिडका महामारीका कारण संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ह्वातै घटेको थियो । योवर्ष ३३ हजार दुई जनाले मात्र संग्रहालय अवलोकन गरेका थिए । उनीहरुबाट आठलाख ६० हजार ८५ रुपैया मात्र राजस्व संकलन भएको थियो । अहिले भने कोभिड महामारी कम भएसँगै संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको संग्रहालयले जनाएको छ । कार्तिक देखि मंसिर, पुस र माघ सम्म शैक्षिक भ्रमणको सिजन भएकोले आन्तरिक पर्यटकको संख्या धेरै नै बढ्ने गरेको संग्रहालयले जनाएको छ ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका हतियारहरु, शाह वंशीय इतिहास, विभिन्न शिलालेख, नेपाली पहिचान झल्काउने विभिन जातिको भेषभुषा, विभिन्न बाजाहरु लगायतका इतिहासका धेरै महत्वपुर्ण कुराहरु संग्रहालय भित्र राखिएका छन् । यसले इतिहास बुझन र किताबमा पढेका कुराहरु प्रत्यक्ष रुपमा हेर्न बाह्य जिल्लाबाट हरेक वर्ष शैक्षिक भ्रमणका रुपमा गोरखा संग्रहालय आउने गरेका छन् ।

संग्रहालय सातै दिन खुल्ला

गोरखा संग्रहाल हप्ताको सातै दिन खुल्ला गरिएको छ । गोरखा संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्य नजर गर्दै २०७८ भदौ २२ गतेबाट हप्ताको सातै दिन खुल्ला गरिएको हो । गोरखा घुम्न आएका पर्यटकहरुले नेपालको इतिहास थाहा पाउन र यहाँको पर्यटन प्रर्बद्धन थप सहयोग पुगोस भन्ने उद्देश्यले हप्ताको सातैदिन खुल्ला गरिएको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए । संग्रहालयमा हाल २१ जना कर्मचारी कार्यरत रहेका छन् ।

उनीहरुबाट मंगलबार १० जना कर्मचारी खटिएदै आएको उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकहरु संग्रहालय हेर्न पाएन भन्ने गुनासो आउन नदिनका लागि आगामि दिनमा पनि हप्ताको सातैदिन खुल्ला गर्ने निर्णयलाई निरन्तरता दिइने उनले बताए ।
नेपाल सरकारको पूर्ण स्वामित्व रहेका देशभरका संग्रहालयमध्य गोरखा दरबार संग्रहालय हप्ताको सातैदिन खुल्ला गर्ने देशभरको पहिलो संग्रहालय भएको उनले बताए । अन्य संग्रहालयमा हप्ताको मंगलबार विदा हुने गर्दछ । हाल संग्रहालय भित्रकै कर्मचारीहरुबाट मंगलबार पनि खुल्ला गर्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।

यस्तै, यो वर्षदेखि बिग्रिएर रहेको पानीको फोहोरा मर्मत गरिएको छ । गोरखा दरबार संग्रहालयको तीनतिरको छानो, बुइँगल मर्मत गरिएको छ । संग्रहालय परिसरभित्रको कम्पाउण्ड वाल, ग्यालरी सो–केसको समेत मर्मत सम्भार गरिएको उनले जानकारी दिए । अव योबर्ष संग्रहालय विस्तारको योजना बन्ने उनले बताए । संग्रहालयभित्र हेर्नका लागि थप सामाग्री थप गर्न यो वर्ष योजना बन्ने र अर्को वर्ष कार्यान्वयन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्