| मङ्लबार, कार्तिक २४, २०८३

चुनावअघि कांग्रेसले राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान चलाउने

नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी राष्ट्रव्यापी अभियान चलाउने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले आसन्न निर्वाचनलाई लक्षित गर्दै विशेष अभियान चलाउने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय सदस्यहरूले चुनावलक्षित प्रचार प्रसार र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

प्रवक्ता प्रकाशशरण महतले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी भदौ २ गतेदेखि २४ गतेसम्म ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने बताए ।

‘हामीले स्थानीय चुनाव अगाडि पनि देशव्यापी अभियान चलायौं, चुनावलक्षित त्यस्तो अभियान फेरि पनि चलाउनुपर्ने र त्यसले संगठनलाई चुस्त राख्नुका साथै सक्रिय बनाउने कुरा आएको छ,’ प्रवक्ता महतले भने, ‘आगामी चुनावलाई लक्षित गरी फेरि त्यस्तै अभियान चलाउने निर्णय भएको छ ।’

केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम अब केन्द्रीय कार्यालयले अभियानको खाका तयार गर्नेछ । कांग्रेसले स्थानीय चुनावअघि एकमहिने अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्