
मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छ : मौसमविद
मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्। उनीहरुले केही दिन यता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।
मंगलबार जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन् । मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ ।
उनले मनसुन न्यून चापिय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन सुरु हुनासाथ गर्मी हटेर जाने बताइन् । उनले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने बताइन्। हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको मौसमविद्हरुले बताएका छन् । हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको बताए ।
उनले एक, दुई दिन भित्रमै मनसुन ट्रफ विस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताइन्। मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् ।
त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् । उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह गरिन् ।




