
पालुङटारले क्षतिको बिवरण नपठाउँदा बाढी पिडितले राहत पाएनन्
गत जेठ २७ गते आएको बाढीले गोरखाको पालुङटार नगरपालिका ९ मा सयौँ रोपनी खेत बगायो । भित्र्याउने बेला भएको जुडी धान, मकै र रोप्ने तयारी गरिएको खेत र बिउ बगाएपछि अधिकांश किसानले यो वर्ष त्यस क्षेत्रमा धान रोपेका छैनन् । कतै बगर छ बिउ बगाएपछि कतै बाँझै छ ।
अर्काको खेत अधियाँ, ठेक्का गरेर ५० मुरी फाउने आशा तामाङलाई यो वर्ष कसरी गुजारा चलाउने भन्ने चिन्ता छ । तीन वर्षदेखि धान बाढीले बगाएको बिर्दिका स्थानीय मंगलप्रसाद श्रेष्ठले बताए । किसानको खेत बगर बनेपछि जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सबै त्यहाँ पुगे । धेरैले आश्वासन बाँडेर फर्किए । खेत बगर बनेपछि बाँझै छाडेका किसानले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।
गतबर्ष पनि नगरपालिकाले किसानहरुलाई राहत हुने खालका कार्यक्रम गरेन । प्रदेश सरकार तथा नेपाल सरकारबाट भएको राहतको व्यवस्थाका सम्बन्धमा पनि किसानलाई जानकारी गराएन, जसले गर्दा किसानहरु राहत पाउनबाट बञ्चित भए । यसबर्ष पनि राहतको प्याकेजका बिषयमा अनभिज्ञता प्रकट गरेको छ ।
पालुङटार नगरपालिकाले किसानका क्षतिको बिवरण यकिन गरेर नपठाउँदा त्यहाँका किसानले कृषि ज्ञान केन्द्रमार्फत पाउने राहत प्रक्रिया अघि बढेको छैन । नगरपालिका आफुले पनि राहत दिएको छैन भने कृषि ज्ञान केन्द्र हुँदै मन्त्रालयबाट पाउने राहतका लागि सहजिकरण गरिदएको छैन ।बाढीले त्यस क्षेत्रमा मात्रै ३५ सय रोपनी खेतमा असर पुग्यो । बाढीले बगाउने, माटो ल्याएर पुर्ने, बिउ बगाउने गरेपछि किसानले खेत रोपेका छैनन् ।
खेत नरोपेका किसानलाई राहत पुग्ने खालका कार्यक्रम दिन नगरपालिकाले कुनै प्रक्रिया सुरु गरेको छैन । वडा नम्बर ९ र १ को क्षतिको बारेमा संघीय सरकारसँग पहल गर्ने कुरा भएको र धान बालीको राहत प्रक्रियाबाट केही अघि नबढेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम काराखेतीले बताए । ‘धान बालीको छुट्टै राहतका लागि बिवरण गएजस्तो लागेन’, उनले भने ।
कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले नगरपालिकाबाट क्षतिको कुनै बिवरण प्राप्त नभएको बताए । ‘हामीलाई को किसानको कति क्षति भयो भन्ने बारे आधिकारिक बिवरण आएको छैन’, उनले भने ‘बिवरण आएको भए हामी कृषि मन्त्रालयमा पठाउँथ्यौँ, किसानलाई राहत मिल्थ्यो ।’ गत वर्ष कार्यालय र प्रदेशको कृषि मन्त्रालयसम्म पहुँच भएका १५ जना किसानले मात्र क्षतिपूर्ति बापत राहत पाएको उनले बताए ।
‘कुल क्षतिको २५ देखि ३० प्रतिशतसम्म गत वर्ष किसानले राहत पाएका थिए’, कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने ‘सिफारिस गरेर पठाइयो भने राहत आउँछ ।’ बाढी, पहिरोबाट भएको क्षतिको राहत दिन कृषि मन्त्रालय, कृषि बिकास निर्देशनालयमा बजेट हुन्छ ।
बाढीले खेत पुरेका कारण पालुङटार ९ को अधिकांश खेत रोपिएको छैन । ठुला फाँटमै रोपाईँ नहुँदा यस वर्ष धान उत्पादनमा ह«ास आउन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बाँध, कुलो भत्किएको, खेत बगाएको, पहिरोले पुरेकोजस्ता बिभिन्न समस्या लिएर त्यस क्षेत्रका किसान जिल्ला प्रशासन कार्यालय धाउने गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘सिंचाई डिभिजनबाट केही जाली दिएर पठाएका छौँ, दीर्घकालीन रुपमा त्यहाँको समस्या समाधान गर्न स्थानीय सरकार, प्रदेश र संघीय सरकारबाटै योजना आवश्यक देखिन्छ ।’ चुती खोलाको पुल मर्मतका लागि पूर्वाधार बिकास कार्यालय गोरखामा बजेट आएको र काम हुने उनले बताए ।
धान खेतीको के कति क्षति भयो भन्ने फिल्ड भिजिटका क्रममा किसानले गुनासो गरेपनि आधिकारिक बिवरण कहिँ कतैबाट नआएको उनले बताए ।
गोरखाका स्थानीय तहहरुले बिपदका लागि बजेट बिनियोजन गरेका छन् । तर थोरै राहतका लागि पनि किसानलाई जिल्ला, संघ, प्रदेशको मुख ताक्न पठाउने प्रवृत्तिले सर्वसाधारणले दुःख भोग्नुपरेको छ । सम्बन्धित पालिकाले बिपद्लाई बिनियोजन गरेको बजेट यस्ता काममा खर्च गर्दा प्रभावितहरुले छिटो र सजिलो गरी राहत पाउनेछन् ।




