
दरौदीको रहमा फँसेको युवाको उद्धार
दरौँदीको रहमा फँसेको एक युवाको आइतबार उद्धार गरिएको छ । गोरखा नगरपालिका वडा नं १० छेपेटारस्थित ठुटे बजार नेरको रहमा फँसेका गोनपा ९ का दिनेश परियारको उद्धार गरिएको हो ।
शनिबार रातीदेखि तालमा फँसेका परियारलाई आइतबार विहान उद्धार गरिएको वडाअध्यक्ष प्रदीप कुँवरले बताए । परियार ९ बजेतिर बाटो हिँड्दै गर्दा लडेर तालमा खसेका थिए । उनको खुट्टा तारजालीमै अड्किएपछि रातभरि तालमै फँसेका कुँबरले बताए । विहान स्थानीयहरु देखेर प्रहरीलाई खबर गरेका थिए ।

वडाअध्यक्ष प्रदीप कुँवरको नेतृत्वमा स्थानीय र १२ किलो प्रहरी चौकीबाट खटिएका प्रहरीको सहयोगमा युवाको उद्धार गरिएको हो । जेसिपी प्रयोग गरी दुई घण्टा लगातारको प्रयासपछि युवाको उद्धार गरिएको उनले बताए । अहिले उनको पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सबै ठिक रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।
युवाको मानसिक रुपमा कमजोर देखिको र परिवारलाई खबर गरिसकेको बताउदै अव छिट्टै परिवारलाई जिम्मा लगाइदिने तयारीमा रहेको उनले बताए ।




