
भारतीय जनताको तर्फबाट प्राप्त विपद् राहत सामग्री हस्तान्तरण
बाढी, पहिरो लगायतका विपद्बाट पिडित बनेकाहरुका लागि भारतीय जनताको तर्फबाट प्राप्त राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच आज (शुक्रबार) नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
राहत सामग्रीमा तीनहजार थान ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् ।
कार्यक्रममा बोल्दै राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको यस राहत सामग्रीको सम्बन्धित निकायले समयमै वितरण गरी त्यसको सही उपयोग गरी अधिकतम लाभ सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताए ।
समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारतीय जनता तथा भारतीय सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । साथै, भारत र नेपालबीच रही आएको विपत् व्यवस्थापन तथा राहत सहकार्यको सराहना गरेका थिए ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणले विपद व्यवस्थापन तथ न्यूनीकरणका लागि नेपाल सरकारले चालेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने नेपालस्थित् भारतीय दूतावासले उल्लेख गरेको छ ।




