
श्यामचेतबासीलाई दीर्घकालीन राहत हुने कार्यक्रम ल्याऊ
आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा ११३ घरधुरी छन् । बिगत पाँच बर्षअघिदेखि झर्न थालेको पहिरोले यहाँका बासिन्दा आहत छन् । यहाँको पहिरो नियन्त्रण गर्न अहिलेसम्म ६८ लाख रुपैयाँ खर्च भइसकेको छ, तर अझै पहिरो नियन्त्रण हुन सकेको छैन ।
अबिरल बर्षापछि बुधबार फेरि त्यहाँ पहिरो झरेको छ । यसअघि गरिएको छेकबार नाघ्दै पहिरो गाउँमाथिबाट झर्यो । सो पहिरोले एउटा घर र एउटा धन्सार पूर्ण रुपमा क्षति पु¥यायो भने पाँच घरमा आंशिक क्षति पु¥यायो । दुवैतर्फ पहिरो गएपछि त्यहाँ रहेका अरु १३ घरधुरी पनि जोखिममा रहे । त्यसैले अहिले पाँच घर पूर्ण विस्थापित र १३ घर पनि जोखिममा छन् ।
उनीहरु कोही गुम्बाडाँडामा र कोही आफन्तका घरमा शरण लिन पुगेका छन् ।
उनीहरुलाई बिहिबार गाउँपालिका, जिल्ला विपत व्यवस्थापन समिति, रेडक्रस सोसाइटी लगायतका संस्थाले राहत सामग्री प्रदान गरेका छन् ।
बिहिबार पानी नपरेका कारण पहिरो रोकिएको छ । पुनः बर्षा सुरु भएपछि पहिरो अर्थात लेदो बग्न सुरु गर्नेछ । अनि फेरि त्यहाँ भागदौड सुरु हुनेछ ।
बिहिबार बाँडेको राहत सामग्रीले उनीहरुलाई क्षणिक राहत महशुस भएको हुनसक्छ, तर त्यहाँको पहिरो नियन्त्रण नभएसम्म उनीहरुले राहतको सास फेर्न सक्नेछैनन् ।
राहत वितरणले अल्पकालीन राहत महशुस गराए पनि दीर्घकालीन राहत महशुस गराउन पहिरो नियन्त्रण कार्यक्रम गर्नुपर्छ । यदि पहिरो नियन्त्रण गर्न सकिँदैन भने सुरक्षित स्थलमा पुनस्थापित गराउने कार्यक्रम ल्याउनु पर्छ ।
सरकारले त्यहाँ अप्रिय घटना भई जनधनको क्षति हुनु अगावै पहिरो नियन्त्रण वा सुरक्षित स्थलमा पुनस्थापित कार्यक्रम लागु गर्नुपर्छ ।




