
खर्च गर्ने क्षमता बढाऊ
नेपाल आर्थिक अभावले ग्रस्त मुलुक हो । यहाँको विकासको ठूलो हिस्सा विदेशी दान तथा ऋणमा निर्भर छ । यहाँको विकासका लागि छिमेकी मित्रराष्टू भारत, चीन, तथा अमेरिका, बेलायत, जापान जस्ता मुलुकहरुले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छन् ।
आर्थिक अभावले ग्रस्त हुँदाहुँदै पनि बिनियोजित धेरथोर बजेट पनि खर्च गर्न नसक्ने अबस्थामा नेपाल छ । त्यसैले नेपाल आर्थिक अभावले ग्रस्त मात्र होइन, ज्ञान, सीप, दक्षता, क्षमताको अभावले पनि ग्रस्त मुलुक हो ।
धेरै पढालेखा जनशक्ति विदेश पलायन भएका छन् । बचेखुचेकाहरु पनि भ्रष्टाचारमा लिप्त छन् । त्यसैले भएको बजेट पनि उचित रुपमा खर्च हुन सकेको छैन । खर्च भएको बजेट पनि हुनुपर्ने ठाउँमा, हुनुपर्ने जति भएको छैन । यही बिडम्बनामा हामी छौँ ।
चालु आर्थिक बर्ष २०७८÷०७९ मा प्रदेश सरकार माताहतका कार्यालयहरुले जम्माजम्मी ८२ प्रतिशत खर्च प्रगति गरेका छन् । यो भनेको चालु र पुँजीगत दुवै गरेर हो । जसमा चालुतर्फ सन्तोषजनक खर्च छ भने पुँजीगततर्फको खर्च दयनीय छ ।
प्रदेश सरकार अन्तरगतका गोरखाका १७ वटा सरकारी कार्यालयहरुमा तीन अर्ब दुई करोड २४ लाख ६३ हजार रुपैयाँ प्राप्त भएको थियो । जसमध्य दुईअर्ब ४७ करोड ७४ लाख ४० हजार रुपैयाँ खर्च भएको छ ।
खर्च भएको पनि सबै बजेट सदुपयोग कहाँ भएको छ र ? कैयौँ प्रतिशत कमिशन र चुहावटमा गएको छ । कैयौँ प्रतिशत कमशल निर्माणमा गएको छ । त्यसैले नेपालको विकास तीब्र रुपमा हुन नसकेको हो ।
बजेट खर्च हुन नसक्नुको दोषको ठूलो हिस्सा कर्मचारीमा जान्छ । त्यसपछि जनप्रतिनिधि, ठेकेदार, राजनीतिक दलका नेता कार्यकर्ता पनि बजेट सदुपयोग हुन नसक्नुका कारकहरु हुन् । सर्वसाधारण जनता पनि दोषमुक्त छ्रैनन् ।
दोष एउटाले अर्कालाई दिनुभन्दा आगामि दिनमा बजेट खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ र संगसंगै सदुपयोग पनि ।




