| मङ्लबार, कार्तिक २४, २०८३

मान्बु पहिरो अपडेट : अन्नपात र पशुबस्तु सुरक्षित ठाउँमा सारिँदै

गोरखाको मान्बु १ श्यामचेतमा पहिरो जाँदा ४० घर बिस्थापित भएका छन् । बुधवार साँझ गएको पहिरोले तीनवटा धन्सार घर बगाएको र अन्य करिब ४० वटा भन्दाबढि घर जोखिममा परेको हो ।

जोखिमा रहेका घरबाट बुधवार राती स्थानीय सुरक्षित ठाउँमा सरेको र अन्नपात, पशुबस्तु भने बिहिवार बिहान सारिएको आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । ‘केही बस्तुभाउ बगाएको, मरेको छ, शुरक्षाकर्मीको सहायताले उद्धार गरिरहेका छौँ’ उनले भने ।

बिस्थापितहरु कोही आफन्तको घरमा, गुम्बामा, सिद्धार्थ बनस्थली आधारभुत विद्यालयमा अस्थायी रुपमा बस्ने तयारीमा छन् ।

पहिले तीन तहमा जाली भरेर गाउँलाई पहिरोबाट जोगाइएको वडा अध्यक्ष सुर्य घलेले बताए । पहिलो तहको जाली नाघेर दोस्रो र तेस्रो तहको जाली भत्काएर पहिरो गाउँको बिच भागबाट बगेको उनले बताए । पहिरोको बिचमा पर्ने ३० घर र वरपरका अन्य १० घरमा तत्काल मान्छे बस्न खतरा रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष राजु गुरुङले पहिरो नियन्त्रणका लागि दिगो रुपमा काम हुन नसकेको बताउँदै थप अध्ययन गरेर अघि बढ्ने बताए । ‘तत्काल हामी स्थानीयलाई त्रिपाल, खानेकुरा दिएको छौँ, यसपछि सुरक्षित ठाउँमा बस्न उहाँको माग अनुसार के दिन सकिन्छ गाउँपालिकाले ब्यवस्था गर्नेछ’ अध्यक्ष गुरुङले भने । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको टोली बुधवार राती नै पहिरो गएको ठाउँमा पुगेर स्थानीयलाई सुरक्षित ठाउँमा सारेको र बिहिवार बिहान भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्