| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा कारागारमा पानी चुहियो, कैदीबन्दी सकसपूर्ण जीवनयापन गर्दै

गोरखा कारागारमा पानी चुहिन थालेपछि कैदीबन्दीलाई सास्ती भएको छ । वर्षातको बेला कारागारको छत चुहिएर पानी चुहिने गरेको कैदीबन्दीले गुनासो गरेका छन् । क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको गोरखा कारागारमा पानी चुहिँदा झनै सास्ती थपिएको छ ।
कारागारभित्र पानी चुहिँदा दुःख भएको कारागार शाखाका प्रमुख गणेशप्रसाद भट्टराईले बताए ।

‘भवन निकै पुरानो भयो, वायरिङ लथालिङ्ग छ, इन्भटरले पनि काम गर्दैन, झरी परेका बेला त सुत्न बस्नै गाहूो छ’, कारागार शाखा प्रमुख भट्टराईले भने ।

३३ वर्षअघि निर्माण भएको ४५ जना पुरुष र २० जना महिला अट्ने क्षमता भएको गोरखा कारागारमा भवनमा अहिले ८३ जना पुरुष र १० जना महिला छन् । महिला कक्षमा क्षमता भन्दा कम हुँदा सजिलो भएको छ भने पुरुषहरुले थप सास्ती भोग्नुपरेको छ ।
शौचालय पुन निर्माण भएकाले पहिलो भन्दा केही सहज भएको कारागार प्रमुख भट्टराईले बताए ।

भुकम्प लगत्तै कारागार शाखाको नयाँ भवन बन्ने चर्चा थियो । जिल्ला आयोजना कार्यान्वयन इकाईले भवनको डिजाईनसमेत गरेको थियो । डिजाईन भएर पनि पुन निर्माणको टुङ्गो नलागेको उनले बताए । ‘भवन निर्माणको चर्चा थियो तर अहिलेसम्म केही जानकारी आएको छैन’, कारागार शाखा प्रमुख गणेशप्रसाद भट्टराईले भने ।

चालुवर्ष सरकारले गोरखा कारागारका लागि बजेट बिनियोजन गरेको छैन । आउँदो बर्ष पनि गोरखा कारागारको भवन निर्माण सुरु नहुने देखिएको छ ।

अहिले कारागार रहेको गोरखा नगरपालिका ६ मा कारागार शाखाको नाममा ११ रोपनी जग्गा छ । नयाँ भवन नबन्दा धेरै दुःख भोग्नुपरेको गुनासो कैदीबन्दी छ ।

प्रतिक्रिया दिनुहोस्