
चुम गुम्बा पुस्तकालय उद्घाटन तथा पुस्तक विमोचन
तिब्बतको सीमानामा रहेको गोरखाको चुम उपत्यकामा चुम गुम्बा पुस्तकालय स्थापना गरिएको छ । सोमबार र मंगलबार दुई दिने कार्यक्रम आयोजना गरी पुस्तकालयको उद्घाटन गरिएको हो ।
चुम गुम्बा निर्माण गरेका खेम्पो डुङ्से लामा पेमा रिम्पोछेले पुस्तकालयको उद्घाटन गरेका हुन् ।

साथै सो अवसरमा चुम पुस्तकालयले प्रकाशन गरेको चारवटा पुस्तक पनि विमोचन गरिएको छ । ‘चुमको इतिहास’ गुरु छेवाङ, वुद्ध धर्मावलम्बीहरुले अपनाउने विभिन्न सम्प्रदायहरुको विषयमा लेखिएका पुस्तकहरु पनि विमोचन गरिएको छ । चुम उपत्यका कसरी स्थापना भयो, त्यहाँ बसोबास गर्ने चुम्बा जातिहरु तिब्बत तथा अरु कुनकुन ठाउँदेखि आएर कहिले र कसरी बसोबास गरे इत्यादिको बारेमा लेखिएको पुस्तक विमोचन गरिएको डुङ्से पेमा रिम्पोछेले जानकारी दिए ।
साथै चुम उपत्यकाका गुरु छेवाङको २५ पुस्ताका बारेमा लेखिएको पुस्तक पनि विमोचन गरिएको छ । वुद्ध धर्मावलम्बीहरुले अवलम्बन गर्ने बज्रयाना, महायाना, हिनायानाका विषयमा लेखिएको पुस्तक पनि विमोचन गरिएको छ ।


बिगत १२ बर्षदेखि अध्ययन, शोध, अनुसन्धान गरी लेखिएको पुस्तक विमोचन गरिएको उनले बताए ।
पुस्तक विमोचन तथा पुस्तकालय उद्घाटन कार्यक्रममा प्रसिद्ध राजेन गुम्बा, म्हु गुम्बाका खेम्पो, लामा गुरुहरु, विभिन्न टोलका लाव्राङ लामाहरु, चुमनुब्री गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष टासी लामा, निवर्तमान वडाअध्यक्ष पासाङ लामा लगायत उपस्थित थिए ।
यसअघि डुङ्से लामा पेमा रिम्पोछेकै अग्रसरतामा गत पाँचबर्षअघि करिब २० करोड रुपैयाँ लागतमा चुम उपत्यकामा चुमगुम्बाको निर्माण गरिएको थियो । चुमबासीलाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले उनले सोही चुमगुम्बामा करुणा क्लिनिक पनि सञ्चालन गरिरहेका छन् ।
चुम उपत्यकामा सतप्रतिशत वुद्धधर्मावलम्बी भोटे लामा समुदायको बसोबास छ । पछिल्लो समयमा नयाँ पुस्तालाई आफ्नो इतिहास, धर्म, संस्कार, संस्कृतिका बारेमा अध्ययन गर्ने अवसर प्रदान गर्न पुस्तक प्रकाशन गरेको तथा पुस्तकालय निर्माण गरेको सो गुम्बाका प्रमुख लामा पासाङले जानकारी दिए ।





