
गोरखा सदरमुकाममा अपाङ्गता सहायता कक्ष स्थापना
गोरखा सदरमुकाममा अपाङ्गता सहायता कक्ष स्थापना गरिएको छ । गोरखा नेत्रहिन संघ गोरखाको पहलमा स्थानीय तह र विभिन्न संघसस्थाको आर्थिक सहयोगमा अपाङ्गता सहायता कक्ष स्थापना गरिएको हो ।
अपाङ्गता भएको व्यक्तिहरुलाई कामकाजमा सहजीकरणका लागि अपाङ्गता सहायता कक्ष स्थापना गरिएको नेत्रहिन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेतले बताए ।
‘जिल्लाका विभिन्न पालिकाबाट अपाङ्गता भएका व्यक्तिहरु मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र बनाउन र मालपोत कार्यालयमा आउँछन् तर उनीहरुलाई सहजीकरण गरिदिने मान्छे नहुँदा धेरै समस्या हुने गरेको छ’ बस्नेतले भने, ‘त्यसैले उनीहरुको काममा सहजीकरण गरिदिनका लागि हामीले अपाङ्गता सहायता कक्ष स्थापना गरेका हौँ ।’
अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारी कामकाज गर्न धेरै अलमल पर्ने र आउजाउमा समस्या हुने गरेका कारण उनीहरुलाई सहजीकरण गर्नका लागि सहायता कक्ष स्थापना गरेको उनले जानकारी दिए । अपाङ्गता सहायता कक्ष स्थापनाका लागि करिब छ लाख खर्च भएको उनले बताए ।
गोरखा नगरपालिकाको तीन लाख, आरुघाट गाउँपालिकाको ५० हजार र हिमचुली बचत तथा सहकारी संस्थाको १५ हजारमा अपाङ्गता सहायता कक्ष स्थापना गरिएको उनले बताए । कार्यालयमा एक जना सहजकर्ता राख्ने तयारीमा रहेको बताउँदै उनले भने, ‘आर्थिक स्रोत नभएका कारण सहजकर्ता अहिले सम्म राखेको छैनाँै । हामी स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आर्थिक स्रोत सहयोग गरिदिन अनुरोध गरेका छौँ ।’ सहायता कक्षमा एकजना सहजकर्ता राख्न सके अपाङ्गता भएका व्यक्ति सरकारी कामकाजमा सहयोग पु¥याउन धेरै सहज हुने उनले जानकारी दिए ।




