
कहाँ हराउँछन् महिला र बालवालिका !
गोरखामा बालवालिका हराउने र फेला नपर्ने क्रम धेरै बढेको छ । महिला र बालवालिका हराएको उजुरी जिल्ला प्रहरी कार्यालयको महिला सेलमा चाङ छ ।
चालु वर्षको जेठ मसान्त सम्म अर्थात ११ महिनामा गोरखाबाट ३७ जना बालिका हराएकोमा २९ जना भेटिए नौ जना अझै भेटिएको तथ्याङ्क प्रहरीकहाँ छैन । सोही अवधीमा ७० जना महिला हराएकामा ४७ जना फेला परे भने नौ जना छैनन् । यो वर्ष मात्र होईन बिगतका वर्षहरुमा पनि हराउने र फेला नपर्ने क्रम धेरै छ ।
२०७७ सालमा महिला, बालबालिका र जेष्ठ नागरिक गरी कुल ८१ जना हराएका थिए । उनीहरुमध्य ७२ जना फेला परेको र नौ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । २०७८ सालमा कुल एक सय चार जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका थिए । उनीहरु मध्ये ८९ जना फेला परेका र १५ जना फेला परेनन् । हराउनेमा जेष्ठ नागरिक र पुरुषको संख्या कम छ ।
प्रहरीले मानिस हराएको जानकारी गराउने र भेटिएको जानकारी नगराउँदा तथ्याङ्कमा हराईरहेका धेरै देखिएको जनाएको छ । तर हराएका सबै भेटिएका छन् त ? महिला र बालवालिका नै वर्षेनी किन धेरै हराईरहेका छन ? यो विषयमा भने सरोकारवालाहरुको चासो कम देखिन्छ ।
कुन क्षेत्रका, कुन उमेर समुहका, कुन पारिवारिक स्तरका महिला तथा बालवालिका हराईरहेका छन् ? हराएर भेटिएकाहरुको अनुभव के छ ? यी विषयको अध्ययन अनुसन्धान भएको छैन । जसका कारण एउटै घटना बारम्बार दोहोरिएको छ । समुदायका चेतनाको स्तरवृद्धी गर्ने, महिला, बालवालिकालाई शिक्षाको पहुँच बढाउने, रोजगारीको अवसर सिर्जना गराउने, समुदायमा सहज जिविकोपार्जनको बतावरण मिलाउनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ । दबाव, अभाव र प्रभावका कारणपनि महिला बालवालिका धेरै घर छाडेर हिँडेको देखिन्छ । यो अवस्थालाई निरुत्साहित गर्ने खालका योजना स्थानीय सरकारको हो ।




