
आमा हुनु त सर्मिला जस्तो
आफ्ना श्रीमानले बाघ मारेको घटना श्रीमतीले अरु कसैबाट सुनेकी हुन्छे । तर मुसा मारेको घटना बोइफ्रेण्डले बढाइचढाइ गरेर बारम्बार सुनाइरहन्छ । नक्कली बोइफ्रेण्ड सक्कली श्रीमानको खुट्टामा बाँध्न पनि लायक नठानेर ‘ब्रेकअप’ दिन्छे ।
यो नैतिक शिक्षा दिने कथा सानैदेखि सुन्दै आएको हो ।
तर अहिले सानो काम गरेर ढोल पिट्नेहरुको बिगबिगी छ । बाघको जुँगा उखेल्नेहरु समाजमा गुमनाम छन् । एउटा मुसा मार्नेहरु वीरगाथा बनाएर गाई हिँड्छन् । यस्तै बिडम्बनामा गुज्रिरहन्छ बर्तमान ।
काम गरेर खानेहरु शीर निहु¥याएर हिँडिरहेका हुन्छन्, तर समाजमा सिन्को नभाँच्नेहरुको ठूलो स्वर हुने गर्छ ।
यसरी गुज्रिरहेको दुनियाँका लागि सर्मिला थापा(नेपाली) एउटा फरक नारीको दृष्टान्त छिन् । उनी बिहानभरि सडक बढार्छिन् । लायन्स आँखा अस्पतालमा पनि सरसफाइको काम गर्छिन् । दिनभर बालुवा बोक्छिन्, गिटी कुट्छिन् । किनभने उनलाई तीन सन्तानलाई असर शिक्षा दिनुछ ।
कैयौँ अभिभावकले छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिएर पढाएका हुन्छन् । तर उनले कुल्ली काम गरीगरी जेठी छोरीलाई क्यानडामा नर्सिङ पढाएकी छिन् । यो उनको महानलाई मुक्तकण्ठले प्रसंसा नगरीरहन सकिन्न । कुल्ली काम गरेर, घर बेचेर, आफन्तको घर धितो राखेर छोरीलाई विदेश पढ्न पठाउने यी आमा एउटा असल आमाको उदाहरण हो ।
उनको माहिलो सन्तान सरस्वती मावि आहालेमा कक्षा नौ मा पढ्छ । सयौँ विद्यार्थीको माझ उसले रोल नंबर १ मा दर्ज गरेको छ । अर्की छोरी महेन्द्रज्योति माविमा कक्षा सातमा पढ्छिन् । त्यहाँ पनि उनको रोल नंबर १ हो ।
सन्तानलाई अमेरिका, क्यानडा पठाएपछि कैयौँ अभिभावकको भुइँमा खुट्टा हुदैन तर उनले कहीँ, कतै दम्भ, घमण्ड नगरी संयमित छिन् ।
उनको अर्को महानता छ, काम सानो ठूलो हुँदैन भन्ने भावना । उनको अर्को अनुकरणीय धारणा छ, आफू सुखका लागि नभै खुशीका लागि काम गरेको भन्ने । उनको खुशीमा रङ थप्ने काम सन्तानले गरेका छन् ।
आमा हुनु त सर्मिला जस्तो, सन्तान हुनु त सर्मिलाका जस्ता ।




