
महिला हिंसा न्यूनिकरणमा प्रहरीको सचेतना अभियान
बढ्दो महिला हिंसा न्यूनिकरण गर्न गोरखा प्रहरीले टोलटोलमा सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले घरेलु हिंसा, महिला हिंसा, लागु औषधको प्रयोगको घटना हुने गरेको ठाउँ पहिचान गरी प्राथमिकताका आधारमा कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
बिहिवार गोरखा नगरपालिका १३ स्थित दरैगाउँमा सचेतनामुलक कार्यक्रम भएको छ । हिंसा के हो ? समुदायमा हिंसाका घटना कसरी भईरहेको छ ? न्यूनिकरण गर्न के गर्नुपर्छ ? कुन अवस्थामा हिंसा हुन सक्छ ? हिंसा भएको खण्डमा के गर्ने ? कानुनी उपचार कसरी खोज्ने भन्ने विषयमा एसपी खनालले जानकारी गराए ।
कार्यक्रममा महिला समुहका अगुवासहित स्थानीयको उपस्थिति थियो । सोही अवसरमा एसपी खनालले लागु औषध दुब्र्यसनीबाट युवाहरुलाई कसरी छुटाउने वा त्यसतर्फ लाग्न नदिने भन्ने बारेमा जानकारी गराएका थिए । लागु औषध कुन अवस्थामा प्रयोग गर्न सक्छन् ? के कस्ता बस्तु लागु औषधको रुपमा प्रयोग हुन्छ ? त्यसबाट कस्तो असर देखिन्छ भन्ने बारे उनले यसअघि घटेका घटनासहित सहभागीलाई जानकारी गराएका थिए । कुन अपराधमा कति सजायँ हुन्छ ? जरिवानाको प्रावधान के छ भन्ने बारेमा पनि उनले सचेत गराए ।
कार्यक्रममा वडा नम्बर १३ का वडाअध्यक्ष मित्रा परियारले सचेतनामुलक कार्यक्रम बिभिन्न टोलटोलमा गर्ने हो भने धेरै विषयमा आमा, दिदिबहिनिलाई जानकारी मिल्ने बताइन् ।
साथै उनले हिंसाका घटना अहिले पनि न्यूनिकरण हुन नसकेको बताउँदै महिलाहरु त्यसबाट सचेत हुनुपर्ने र न्यायका त्यस्ता घटना बिरुद्ध उजुरी गर्नुपर्ने बताईन् । सहभागीहरुलाई लैङ्गिक हिंसा कानुनी ब्यवस्था, चुनौती र न्यूनिकरणका उपाएका बारेमा प्रहरी जवान अस्मिता थापा मगरले पनि सहजिकरण गरेकी थिईन् ।




