
सर्मिला, ती महान आमा, भन्छिन्, ‘काम सानो ठूलो हुँदैन’

तपाईँको नाम ? : ‘सर्मिला थापा(नेपाली) ।’
ठेगाना नि ? : ‘सिरानचोक गाउँपालिका ७ ।’
हाल बसोबास ? : ‘गोरखा नगरपालिका ६ पाटेचौर ।’
उमेर ? : ‘३९ बर्ष ।’
पेशा के गर्नुहुन्छ ? : ‘कुल्ली काम गर्छु ।’
सर्मिलाका तीन सन्तान छन् । सबैभन्दा सानी छोरी महेन्द्रज्योति मावि कक्षा ७ की रोल नंबर वान । छोरा सरस्वती मावि आहाले, कक्षा नौ का रोल नंबर वान । अर्की छोरी क्यानडामा नर्सिङ पढ्दै । उनी पनि स्कूले जीवनमा सबै कक्षाकी रोल नंबर वान ।
जो कोही महिलाले गर्न नसक्ने कडा मिहिनेतमा उनको दिनचर्या बित्छ ।
बिहान पाँच बजेदेखि सातबजेसम्म क्लिन गोरखाको कर्मचारी बनेर ठूलो आँगन क्षेत्रमा सडक सफा गर्छिन् । सातबजेदेखि नौ बजेसम्म लायन्स आँखा अस्पताल सरसफाइको काम गर्छिन् ।
नौ बजे घर फर्कन्छिन् । खानाखाईवरी घरधन्दा गर्छिन् । १० बजेदेखि घर तथा विभिन्न निर्माणसम्बन्धी काममा कुल्ली काममा हाजिर हुन पुग्छिन् । अबिराम कुल्ली काममा दिन बिताएर लखतरान हुँदै चार प्रहर रात बिताउन घर पुग्छिन् ।
‘कुनै–कुनै दिन काम गर्न पाइएन भने बिरामी भएजस्तो लाग्छ’, उनी भन्छिन्, ‘नराम्रो काम पो गर्न हुन्न, राम्रो काम त के सानो, के ठूलो । सबै काम गर्नुपर्छ । चोरेर, ठगेर, ढाँटेर खान हुन्न । मिहिनेत गरेर खानुपर्छ ।’
सुख होइन उनलाई खुशी चाहिन्छ । भन्छिन्, ‘मैले सुख पाएको छैन तर, खुशी पाएको छु’, उनी भन्छिन्, ‘मैले सुख खोजेको पनि छैन । खुशी खोजेको छु ।’
दाना–दाना पसिनाले आफूलाई खुशी दिएको उनको भनाइ छ । ‘म तीन ठाउँमा काम गर्छु । तीनजना छोराछोरी पढाएको छु’, उनी भन्छिन्, ‘मेरो छोराछोरीले मेरो दुख बुझेर पढेका छन् । म यसमै खुशी छु, सन्तुष्ट छु । मैले सुख चाहेको होइन, खुशी चाहेको हो । छोराछोरीले खुशी दिएका छन् ।’
कतिपय धनी बाउआमाले छोराछोरीलाई पढाउन चाहेर पनि छोराछोरी पढ्दैनन्, कुलतमा लागेका हुन्छन् । तर आफूहरु गरीब भएर पनि छोराछोरीले राम्ररी पढेर सही बाटो लिएकोमा खुशी लागेको उनको भनाइ छ ।
उनले श्रम र पसिना बेचेर ठूली छोरीलाई नेपालमै पिसिएल नर्सिङ पढाए । झण्डै ४० लाख खर्च गरी बिएससी नर्सिङ पढाउन हालै क्यानडा पठाएकी छिन् । ‘ठूली छोरीले नआत्तिनू आमा, अब दुईबर्षपछि हजूरले दुख गर्नुपर्नेछैन भन्छे’, उनी हर्षाश्रु चुहाउँदै भन्छिन्, ‘तर अझै दुई छोराछोरीलाई उतार्नै छ । आफ्नो काम त छोड्न कहाँ पाइएला र ?’
बजारमा कुल्ली काम गर्छु भन्नुपर्दा आफूलाई कत्तिपनि लाज सरम नलाग्ने उनको भनाइ छ । ‘तर कसैकसैले होच्याएर बोल्छन्’, उनी भन्छिन्, ‘कसैकसैलेचाहिँ तिमीले धेरै राम्रो गरेकी छौँ भनेर हौसला दिन्छन् ।’ अरुले जे–जे भने पनि आफूले राम्रै गरेको उनको निश्कर्ष छ ।
छोरीलाई नर्सिङ पढाउँदा र क्यानडा पठाउँदा लाखौँ ऋण लागेको छ । ‘नर्सिङ पढाउँदैमा घर बेचेको हो । फेरि क्यानडा जान्छु भनेर जिद्धी गर्न थाली अनि आफन्तको घर धितो राखेर छोरीलाई पढ्न पठाएको हो’, उनी भन्छिन्, ‘हामीले धेरै धन कमाएर छोराछोरीलाई दिन नसके पनि राम्रो शिक्षा दीक्षा दियौँ भने यही राम्रो हो ।’
ठूली छोरीले एमबिबिएस पढ्न चाहेर पनि गरिबीले गर्दा पढाउन नसकेकोमा भने उनको दुखेसो छ । ‘अब कान्छो छोरोले इन्जिनियर र कान्छी छोरीले ल पढ्छु भनेका छन् । पढाउन सकिन्छ कि सकिँदैन खै ?’ उनी भन्छिन्, ‘छोराछोरी ठूलो सपना देख्छन् । पूरा गर्न सकिन्छ कि सकिदैन । यसमै पीर छ ।’





