
पालुङटारमा पाडो बितरण कार्यक्रम आलोचित
गोरखाको पालुङटार नगरपालिकामा पाडो बितरण कार्यक्रम आलोचित बनेको छ । २५ हजार रुपैयाँमा खरिद गरिएको पाडो सानो भएको भन्दै स्थानीयले तीब्र आलोचना गरेका हुन् ।
चालुवर्ष मासु मिसन कार्यक्रमअन्तरगत पाडो प्रवद्र्धन कार्यक्रम संचालनका लागि २० लाख रुपैयाँ बिनियोजन भएको नगरपालिकाका पशु अधिकृत रामप्रसाद देवकोटाले बताए । उक्त रकममध्ये १७ लाख ५० हजार रुपैयाँ पाडो खरिदमा र बाँकी रकम औषधी, ढुवानी, कर्मचारीको टिएडिए भत्ता लगायतका काममा खर्च गर्ने कार्यविधि अनुसार योजना बनाइएको उनले बताए ।
‘संघीय सरकारको सशर्त कार्यक्रम हो’, उनले भने ‘पालुङटार नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो ।’ नगरपालिकाले मंसीर ८ गते सुचना टाँस गरेर कृषि समुह, फर्म र सहकारीहरुबाट निवेदन माग गरेको थियो ।
वडा नम्बर ५ को रेग्मीडाँडा किसान क्लवबाट २१, वडा नम्बर ४ को ग्रामीण स्वावलम्वन किसान क्लवबाट ३० जना र अन्य फर्म सहकारी, कृषि समुहबाट ४६ गरी ९७ जनाको आवेदन परेको पशु शाखाका अधिकृत देवकोटाले बताए । ‘निवेदन दिएपछि हामीले अनुगमन ग¥यौँ, त्यसबाट ७० जना किसानलाई पाडो दिने निर्णय भएर बितरण प्रक्रिया सुरु भएको हो’, उनले भने, ‘८० प्रतिशत दलित समुदायका किसान छनौटमा पर्नुभएको छ ।’

सुचना प्रकाशित गर्दा सीमान्तकृत, दलित, महिला, बिदेशबाट फर्केका युवाहरु, कोभिड प्रभावित लक्षित बर्गकालागि प्राथमिकता दिने भनिएको थियो । किसान छनौट गर्दा अनुगमनका क्रममा गोठको स्तर, घरको जनशक्ति पाडो हुर्काउन, पाल्न सक्ने अवस्थाको बारेमा अध्ययन गरिएको अधिकृत देवकोटाले बताए ।
पाडो खरिद गर्न हर्कबहादुर नेपालीको संयोजकत्वमा पाँच सदस्यीय खरिद समिति बनाइएको थियो । समितिमा चित्रबहादुर नेपाली, बिष्णुमाया कुमाल, रामचन्द्र घर्ती, कृष्णबहादुर नेपाली सदस्य छन् ।
खरिद समितिले ल्याएर किसानलाई पाडो उपलब्ध गराउनुपथ्र्यो । तर समितिले पाडो खरिद गर्न स्रोत जुटाउन नसकेको, नगरपालिकाबाट अग्रिम भुक्तानी हुने प्रावधान नरहेकाले स्थानीय जीवन न्यौपानेलाई जिम्मा लगाइएको समितिका संयोजक हर्कबहादुर नेपालीले बताए । ‘कहिले वीरगंज, कहिले परासी, बर्दघाट पनि गइयो, नगरपालिकाको कर्मचारी पनि जानुभयो, पहिले पैसा मागेपछि हामीले पाडो ल्याउन सकेनौँ’, उनले भने, ‘सहजिकरणका लागि जीवन न्यौपानेलाई भनेका हौँ ।’
खरिद समिति र किसानलाई सहजिकरण गरेकाजिबन न्यौपानेले पाडो ल्याएका हुन् । तनहुँको भानु स्थित सापकोटा फार्म र संगिता फार्मको नामबाट न्यौपानेले ७० वटा पाडो खरिद समिति मार्फत किसानलाई उपलब्ध गराएको बताए ।
‘खरिद समितिले ल्याउन नसकेपछि मलाई भन्नुभयो, मैले ल्याईदिएको हुँ’ जिबन न्यौपानेले भने ‘एकै ठाउँमा धेरै पाडो खरिद गरिएको हो, एउटा÷एउटा को दररेट गरेर किनिएको होईन, कुनै ठुलो कुनै सानो परेको छ ।’ पाडो किसानको घर सम्म ढुवानी, भेटनरी जाँच गराउँदा प्रतिपाडो २५ हजार परेको उनले बताए । ‘होलसेलमा २५ हजार परेको हो, कुनैलाई १७ हजार, कुनैलाई १८ हजार पर्ने पनि छ, कुनै ३०,३२ हजारको पनि छ, एकै मुल्य कायम गर्दा २५ भनिएको हो’ न्यौपानेले भने । पाडोलाई मात्रै आफुल १८ देखि २२ हजार रुपैयाँसम्म हालेको उनले बताए । ढुवानी, भेटनरी सहित प्रतिपाडो २५ हजार पुगेको उनले बताए ।
खरिद समितिका संयोजक नेपालीले किसानलाई गोलाप्रथाबाट पाडो बितरण गरिएको बताउँदै उनले कसैले पनि गुनासो नगरेको बताए । ‘हाटबजारबाट धेरै पाडो एकै पटक उठाइएकाले सानो ठुलो भएको हो, त्यसो नगरेको भए पाडो ल्याएर किसानले पाउने अवस्था नहुने थियो’ उनले भने । अहिले ६० वटा बितरण भईसकेको र १० वटा आउँदै गरेको उनले बताए । भैरहवाबाट पाडो ल्याएर बितरण गरिएको हो ।
पाडो ल्याएर बितरण गरिएको तर अहिले सम्म कार्यक्रम सम्पन्न भएकाले भुक्तानी हुन बाँकी रहेको पालुङटार नगरपालिका पशु शाखा अधिकृत रामप्रसाद देवकोटाले बताए । ‘अनुगमन गरेर सम्झौता अनुसार किसानले पाडो पाए नपाएको बुझेर मात्रै भुक्तानी हुन्छ’ उनले भने ‘कार्यविधी अनुसार नै हामीले काम गरेका छौँ ।’




