| मङ्लबार, कार्तिक २४, २०८३

दलालले अवैध रुपमा दुबई पुर्‍याएकाहरु १५ महिनादेखि अलपत्र

शिव उप्रेती

भीमसेनथापा गाउँपालिका ५ बगुवा माछापोखरीका २० बर्षका रोजन श्रेष्ठ १५ महिनादेखि दुबहीमा अलपत्र छन् । स्थानीय राम पोखरेलले दुबहीमा आफ्नै होटलमा काम लगाइदिने भन्दै दुबही पुर्‍याएर काम नदिएपछि अहिले उनी न काम गरेर पेट पाल्न पाएका छन्, न घर फर्किन ।

आफूहरुले दुबहीमा होटल सञ्चालन गरेको र आफ्नै गाउँका मान्छेलाई काम दिने भन्दै पोखरेलले सोही गाउँका गौरब बराम र ज्वाइँ नाता पर्ने लम्जुङका हरिकृष्ण घिमिरेलाई पनि भिजिट भिसामा दुबही पु¥याएका थिए ।
पोखरेलले प्रत्येकसित एकलाख ८० हजार रुपैयाँ लिएर दुबही पठाएको तर कसैलाई पनि काम नदिएर धोका दिएको पिडितका आफन्तहरुको गुनासो छ ।

‘छोरो भर्खर १८ पूरा भएको थियो’, श्रेष्ठकी आमा सोविता श्रेष्ठ भन्छिन्, ‘घरमा आएर कतिथोक भनेर ललाइ–फकाइ गरेर लगेको हो । तर अहिले बिचल्ली भयो ।’ अहिले फोन उठाउनै छाडेका उनी बताउँछिन् ।

‘यहाँबाट राम पोखरेलले पठाएको हो । उताचाहिँ रामकै दाइ शंकर पोखरेल र झापाको देवेन्द्र गौतमले एयरपोर्टबाट लिएर गएका हुन्’, हरिकृष्ण घिमिरेकी श्रीमती इश्वरी घिमिरे भन्छिन्, ‘हाम्रा छोराहरुको पासपोर्ट पनि दलालहरुले राखेका छन् । पासपोर्ट नभएपछि उनीहरु बाहिर निस्कन पनि पाएका छैनन् । फर्कन पनि पाएका छैनन् ।’ पहिले–पहिले त सँधै यही हप्ताभित्र घर फर्काइदिन्छौँ, भोलि नै पठाइदिन्छौँ भन्थे । अहिले त फोन नै अफ गरेर बसेका उनीहरुको गुनासो छ । ‘उता शंकर र देबेन्द्रले छोराहरुको फोन नउठाउने, यता रामले हाम्रो फोन नउठाउने’, उनले भनिन्, ‘अनलाईनमा देखिन्छन्, तर मेसेजको जवाफ पनि दिँदैनन् ।’

दुबईमा एउटै कोठाभित्र १५ महिनादेखि थुनिएर बस्दा आत्तिसकेको अर्का पिडित हरिकृष्ण घिमिरेकी श्रीमती इश्वरी घिमिरे बताउँछिन् । ‘हामीलाई छिटो नेपाल झिकाओ भनेर सँधै भनिरहनुहुन्छ तर कागजपत्र छैन । कागजपत्र नलिई कोठाबाट बाहिर निस्कन त नपाइने रहेछ, नेपाल कसरी झिकाउने ?’, उनी भन्छिन्, ‘नजिकको आफन्त हो, किन नराम्रो गर्ने भनेर आजको दिनसम्म कतै उजुरबाजुर पनि गरेको छैन । अब त फोन पनि अफ गर्न थाले । बिचल्लीमा परियो ।’

पोखरेलले बगुवाका गौरब बराम, रोजन श्रेष्ठ, लम्जुङका हरिकृष्ण घिमिरे र हेटौँडाका कार्साङ तामाङलाई २०७७ सालको माघ २४ गते दुबही पठाएका थिए । कोभिडको महामारीका कारण वर्क पर्मिट बन्द भएका बेला उनीहरुलाई भिजिट भिसामा दुबई पु¥याएका हुन् ।
भिजिट भिसाको अवधि समाप्त भइसकेको र काम गर्ने भिसा पनि नहुँदा अहिले उनीहरु बिचल्लीमा छन् । ‘समस्यामा परियो, उद्धार गरिदिनुप¥यो भनेर गुनासो गर्दा अहिले उल्टै दलालले हप्कीदप्की गर्छन्’, हरिकृष्ण घिमिरेका ससुराबुबा कृष्ण ढकालले भने, ‘दुबहीमा हुनेलाई फोन गर्दा उठाउँदैनन्, नेपालमा हुनेले फोन अफ गरेका छन् । त्यत्रो हट्टाकट्ट ज्वाईँ अहिले पीरचिन्ताले हाड र छाला मात्र बाँकी हुनुहुन्छ ।’

दलालले विदेशमा लगेर अलपत्र पारेको भन्दै गोरखाका ४२ जनाको उजुरी आफ्नो कार्यालयमा परेको सुरक्षित आप्रवासन परियोजना(सामी)का नारायण अर्यालले बताए । उनका अनुसार दुबईमा अलपत्र परेका १६ जना, साउदी अरबमा अलपत्र परेका १४ जना र मलेसियामा अलपत्र परेका १२ जनाको उजुरी छानबीनका लागि परियोजनाको गोरखा कार्यालयमा प्राप्त भएको छ ।

‘वैदेशिक रोजगारमा लान्छु भनेर पैसा तिरेपछि दलाल गायब भई अलपत्र परेका २१ जनाको उजुरी परेको छ’, अर्यालले भने, ‘घटना त अनगिन्ती छन् तर सबैको यहाँ उजुरी परेको छैन ।’ झन बढि दुख दिन्छन् कि भन्ने डरले र इज्जतमा दाग लाग्छ कि भन्ने शंकाले उजुरी गर्ने प्रचलन नरहेको अर्यालको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्