| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा बजार र बारपाकको ढल ब्यवस्थापन अन्यौलमा

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक(ठूलोगाउँ) को ढल ब्यवस्थापनको काम अन्यौल हुन पुगेको छ । लामो समयदेखि चर्चामा रहेको यो आयोजना दुईपटक बोलपत्र आह्वान हुँदा कुनैपनि कम्पनीले टेण्डर दाखिला नगरेपछि आयोजना अनिश्चित बनेको हो ।

‘दोस्रो पटक टेण्डरको म्याद शुक्रवार सकियो, कुनै कम्पनी र ब्यवशायीले पनि बोलपत्र दाखिला गर्नुभएन’, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङका प्रमुख शेखरचन्द्र केसीले भने, ‘अब कसरी अघि बढ्ने भन्ने बारे बिभागसँग सल्लाह गरेर निर्णय लिन्छौँ ।’ दुई वर्षअघि सर्वे गरिएको भएपनि दररेट भने टेण्डर आह्वान गरिएको वर्षको हुने उनले बताए ।

ब्यवशायीले भने निर्माण सामग्रीको दररेट बढेको, पुरानो दररेटमा काम गर्नुपर्दा समस्या हुने भन्दै टेण्डर दाखिला नगरेको चर्चा थियो । असार महिनाभित्रै टेण्डर प्रक्रिया अघि बढाएर काम थाल्न चाहेका आयोजना कार्यालयका प्रमुख केसी सफल हुन सकेनन् । ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि पुन बिभागबाट स्वीकृत गर्नुपर्छ ।’ पुन टेण्डर गर्न समय लाग्ने बताउँदै उनले हुने नै भयो भने पनि काम करिब छ महिनापछि धकेलिएको बताए । ‘ब्यवशायी किन आकर्षित भएनन् भन्ने थाहै भएन’ उनले भने ।

गोरखामा ढल ब्यवस्थापनका लागि आव्हान गरिएको ५७ करोड र बारपाकको ढल ब्यबस्थापनका लागि आव्हान गरिएको ३७ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो ।
‘गोरखाको तीन वर्ष र बारपाकको साँढे दुई वर्षभित्र काम सक्ने योजना हो’, आयोजना प्रमुख केसीले भने, ‘टेण्डर नलाग्दा धेरै समय लाग्ने भयो ।’ ठूला ब्यवशायीले पाँचवटा ठेक्का मात्रै दाखिला गर्न पाउने नियम भएकाले पनि ब्यवशायीले दाखिला नगरेको हुन सक्ने कार्यालयको अनुमान छ ।

बारपाक र गोरखामा ढलको दीर्घकालीन ब्यवस्थापनका लागि प्रशोधन केन्द्रसहितको ढल निर्माण गर्ने गरी संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले काम गर्ने योजना बनाएको थियो । पहिलो चरणको प्रक्रिया नै अघि नबढ्दा गोरखा र बारपाकको ढल ब्यवस्थापनको प्रोजेक्ट अघि बढ्न सकेको छैन । निर्माण ब्यवशायीले ढलको ठेक्का दाखिला गराउन चासो दिएनन् ।

निर्माण ब्यवशायी संघ गोरखाका अध्यक्ष सूर्य भण्डारी भन्छन्, ‘यो दुई, तीन वर्षअघि डिपिआर भएर टेण्डर भएको योजना हो । त्यो बेलाको र अहिलेको दररेट फरक छ । पुन नयाँ दररेट नआउँदासम्म ठेक्का लाग्ने सम्भावना कम देखिन्छ ।’ ठूला ब्यवशायीले बजारभाउ अनुसार अहिले काम गर्न नसक्ने बताएको भन्दै उनले यही अवस्थामा तेस्रो पटक टेण्डर भएपनि ब्यवशायी इच्छुक नदेखिने दावी गरे ।
‘गोरखामा ढलको काम गर्दा सडक साँघुरो भएकाले यातायात सेवा बन्द गर्नुपर्छ, यहाँका गाडीहरु पार्किङ गर्ने, गुड्ने बैकल्पिक मार्ग छैन, डाईभर्सन गर्न सहज छैन’, उनले भने, ‘काम गर्ने ठाउँ पनि सहज बनाउनुपर्छ ।’ रोड बन्द गरेर काम गर्नुपर्ने बताउँदै उनले त्यसको बिकल्प खोज्न सकिएन भने काम गर्न समस्या हुने बताए ।

गोरखाको सतिपिपलदेखि आहालेसम्मको बस्तीलाई ढल ब्यवस्थापनमा समेट्ने योजना रहेको इन्जिनियर सन्तोष पोखरेलले बताए । ‘अहिले बजार क्षेत्रलाई केन्द्रित गरेर टेण्डर आह्वान गरिएको हो’, उनले भने । अहिले नाली खोल्सीमा फालिएको ढल पाईपलाईनबाट एकैठाउँमा जम्मा गरिन्छ । एकै ठाउँमा जम्मा भएको ढल गोरखा नगरपालिका भन्दा तल वडा नम्बर ८ र ९ को सिमानामा प्रशोधन गरिन्छ । फोहोर प्रशोधन ‘प्लान्ट’ निर्माण गर्न गोरखा नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । करिब १० रोपनी जग्गा नगरपालिकाले उपलब्ध गराउने गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताए ।

प्लास्टिकको पाईपबाट ढल संकलन गरेर प्रशोधन गरिन्छ । ढललाई पानीमा मिसाउन योग्य बनाउने गरी ‘प्लान्ट’ ले काम गर्छ । ढल प्रशोधन गरेपछि बजार, बस्ती क्षेत्रको दुर्गन्ध हटाउन मद्धत पुग्छ । भौगोलिक अवस्थाका कारण भने ढल ब्यवस्थापनको योजना पूरा गर्न सहज छैन । पाईपलाईनका कारण सडक संरचना भत्कने खतरा रहन्छ । ‘निर्माणका क्रममा भत्किएका संरचना परियोजनाले निर्माण गर्छ’, इन्जिनियर पोखरेलले भने ।

अहिले जोडिएको पाईप लाईनमा पछि बनेका घरहरुको पनि ढल मिसाउन मिल्ने गरी तयार गरिनेछ ।
बारपाक वडा नम्बर १ र २ को मुख्य बस्तीबाट संकलन भएको ढललाई प्रशोधन गर्नेगरी योजना बनेको छ । बाक्लो बस्ती रहेको त्यहाँ ढल ब्यवस्थापन नगर्दा दुर्गन्धसँगै महामारीको खतरा रहेकाले पनि बारपाक प्राथमिकतामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्