
जैविक विविधताको संरक्षणका लागि ताल संरक्षण
डिभिजन वन कार्यालय गोरखा र धार्चे गाउँपालिका ७ लापुका स्थानीयहरु जैविक विविधता संरक्षणका लागि सिमसार क्षेत्र व्यवस्थापनमा जुटेका छन् । लापु स्थित सिम्ला सामुदायिक वन भित्र प्राकृतिक रुपमा निर्माण भएको मापु ताल संरक्षण स्थानीयहरु जुटेका हुन् ।
जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनका लागि सिमसार क्षेत्र संरक्षण जुटेको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत महेश पौडेलले बताए ।
सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तरगत मापु ताल संरक्षणका लागि पुर्वाधार निर्माण गरिएको हो । सो कार्यक्रम अन्तरगत मापु ताल जाने ट्रेल निर्माण र दृश्य अवलोकन गर्ने स्थल, ताल वरिपरि छेकबार गर्न तारजाली निर्माण गरिएको उनले बताए । वन कार्यालय ८० प्रतिशत र स्थानीय २० प्रतिशत श्रमदानमा सो पुर्वाधार निर्माण गरिएको हो । जस अनुसार वन कार्यालयको तर्फबाट चार लाख रुपैया खर्च भएको सहयाक वन अधिकृत पौडेलले जानकारी दिए ।
बाह्रै महिना पानी हुने, अर्थात पानी मुल कहिले नसुक्ने, नटुटने र वरिपरि सधै हरभर भएको स्थानलाई सिमसार क्षेत्र भनिन्छ छ । प्रकृतिमा पाइने सम्पूर्ण जीव जनावरहरुका लागि सिमसार क्षेत्र अति उपयुक्त स्थल मानिन्छ । त्यसैले सिमसार क्षेत्रको संरक्षणले जैविक विविधता तथा पर्यापर्यटनको संरक्षण हुने उनी बताउँछन् । स्थानीयका अनुसार भूकम्पपछि पहिरो जाँदा पोखरी बनेको थियो । अहिले सो पोखरीको संरक्षणमा स्थानीयहरु जुटेका छन् । गोरखामा यस प्रकारका कार्यक्रमहरु हरेक वर्ष फरक फरक ठाउँमा हुँदै आएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।




