
झोल साबुन, टपरी र धुप बनाउने तालिमको समापन
पालुङ्टार नगरपालिका वडा नं. ९ का विभिन्न वडामा झोल साबुन, धुप र टपरी बनाउने तालिम समापन गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)ले ढुंगेटारी र चालिसे चौतारामा साताव्यापी विभिन्न उद्यमशील तालिम सञ्चालन गरेको थियो ।
बिहिबार चालिसे डाँडामा मेसिटबाट टपरी बनाउने तालिम र बटुवा धुप बनाउने तालिम समापन गरिएको हो । तालिममा स्थानीय २० जना महिलाहरु सहभागी थिए । त्यस्तै बुधबार ढुंगेटारीमा झोल साबुन बनाउने तालिम समापन गरिएको थियो । स्थानीय २० जनालाई साबुन बनाउने तालिम दिइएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।
ढुंगेटारीमा सञ्चालित झोल साबुन बनाउने तालिममा सहभागी २० जना महिलालाई मेड्पाकी प्रशिक्षक प्रमिला अर्याल र हरिमाया तिवारीले सहजीकरण गरेका थिए । मेसिनबाट टपरी बनाउने र बटुवा धुप बनाउने तालिमका सहभागीलाई अनिता सेढाईँ र प्रमिला अर्यालले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष भेजराज पाण्डे, प्रशिक्षकहरु प्रमिला अर्याल, अनिता सेढाईँ र हरिमाया तिवारीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
तालिमपछि लघुउद्यम गर्न चाहने महिलाहरुलाई नगरपालिका र वडा कार्यालयले आवश्यक सहयोग गर्ने र उत्पादनलाई बजारिकरण गर्न सहयोग गर्ने वडाअध्यक्ष पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै मेड्पाका प्रशिक्षकहरुले टपरी बनाउने मेसिन आउँदो साउनको पहिलो साताभित्र उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।




