| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्री गाउँपालिकामा पहिलो पटक पालिकाको केन्द्रबाटै भुक्तानी सेवा सञ्चालन

हिमाल पारिको चुमनुब्री गाउँपालिका यसबर्ष आर्थिक कारोबारका लागि सदरमुकाम आइपुग्नुपर्ने वाध्यताबाट मुक्त भएको छ ।
नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएपछि यसबर्षदेखि आर्थिक बर्षको मसान्तमा हुने बिलभुक्तानी तथा योजना फस्र्यौटको काम गाउँपालिकाको केन्द्रबाट गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

‘पोहरसम्म उपभोक्ता समितिलाई कामको भुक्तानी दिन र बिल भरपाइ फरफारक गर्न असार लागेपछि सदरमुकाम आउन बाध्य हुन्थ्यौँ’, उनले भने, ‘यसबर्ष भने नेपाल टेलिकमको फोरजी सेवा चलेको छ । त्यसले गर्दा पालिकाको कार्यालयबाटै इलेक्टोनिक्स फण्ड

ट्रान्सफर(इएफटी) सेवामार्फत भुक्तानी दिएका छौँ’, श्रेष्ठले भने, ‘उपभोक्ता समिति पनि भेल, बाढी, बर्षाको सामना गर्दैै चार, पाँच दिनको बाटो हिँडेर भुक्तानी लिन सदरमुकाम पुग्नु पर्ने बाध्यताबाट मुक्त भएका छन् ।’ अहिलेसम्म योजनाको करिब ५० प्रतिशत भुक्तानी दिइसकेको उनले बताए ।

मौसम प्रतिकूल भएन भने यसबर्ष असार मसान्तको आर्थिक कारोबार गाउँपालिकाबाटै सम्भव हुने पालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘म आफू पनि निरन्तर खटिरहेको छु । सबै वडाअध्यक्षलाई गाउँपालिकाको केन्द्र फिलिममा आएर आ–आफ्नो वडाका योजनाहरुको भुक्तानी प्रक्रियामा सहजीकरण गर्न सुझाव दिएको छु’, उनले भने, ‘वडाअध्यक्षहरु सबै जना आएर काममा सघाइरहनु भएको छ । योजनाको प्राविधिक अनुगमनका लागि उपाध्यक्ष र प्राविधिकहरुलाई समयमै खटाएको छु । अहिलेसम्म राम्रै भएको छ ।’

गाउँपालिकाको केन्द्र फिलिममा कुमारी वैँकको सिर्दिबास शाखाले सेवा दिइरहेको छ । फोरजी सेवा सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रबाटै भुक्तानी दिएको सो अहिलेसम्मको यो पहिलो पटक हो ।
भौगोलिक जटिलताका कारण बिगत बर्षहरुमा असारको भेल, बाढी, बर्षा, पहिरो छिचोल्दै चार, पाँच दिनको जोखिम बाटो हिड्दै गोरखा सदरमुकाम आइपुग्नु पर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्