| मङ्लबार, कार्तिक २४, २०८३

इन्टरनेट सेवा नहुँदा धार्चेमा भुक्तानी रोकियो

दुर्गम क्षेत्रमा रहेको धार्चे गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध हुँदा असार मसान्तमा हुने आर्थिक कारोबार लगायतका काम रोकिएको छ । नेपाल टेलिकमले वितरण गरेको फोरजी इन्टरनेट सेवा अवरुद्ध हुँदा असार मसान्तको चापाचापमा उपभोक्ता समिति तथा निर्माण कम्पनीलाई भुक्तानी दिन नसकिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुलबहादुर आलेले जानकारी दिए ।

‘तीन दिन भयो, इन्टरनेट चलेको छैन’, आलेले भने, ‘इन्टरनेट नहुँदा सिस्टम केही चलेको छैन । महालेखा नियन्त्रकको कार्यालयले लागु गरेको ईएफटी(इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर)ले पनि काम गर्दैन, शुत्र सफ्टवेयर पनि चल्दैन ।’ फोन तथा इन्टरनेट नचलेपछि हतारका बेला पनि कम्प्यूटर बन्द गरेर बस्नु परेको उनले बताए ।

आउँदो असार २४ गतेसम्म बिल भरपाई फस्र्यौट तथा भुक्तानी दिइसक्नु पर्ने कानूनी सीमा छ । ‘डेडलाइनभित्र काम गर्न नपाइने भयो भनेर तनाब भइरहेको छ’, उनले भने, ‘गतबर्ष पनि यही बेलामा इन्टरनेट सेवा नचलेर गाउँपालिकाको कार्यालय एक दिनको बाटो टाढा पर्ने धादिङको सल्यानटारबाट सञ्चालन गरिएको थियो । यसबर्ष पनि के गर्ने भन्ने सोच्नै सकिएन ।’ फोनसेवासमेत तीनदिनदेखि अबरुद्ध भएको उनले बताए ।

धार्चेमा नेपाल टेलिकमबाहेक अरु कम्पनीको मोबाइल सेवा सञ्चालनमा छैनन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीसंग समन्वय गरी सेवा नचल्ने नै हो भने गतबर्षजस्तै बिकल्प अपनाउनु पर्ने हुनसक्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘म त पालिकाभन्दा बाहिर गएको थिएँ, आज भर्खर आइपुगेको छु’, उनले भने, ‘अब के गर्ने भनेर सल्लाह सुझाव लिन्छु ।’

बर्षभरिको कार्यक्रमहरुमध्यबाट २० प्रतिशत रकम अझै भुक्तानी गर्न बाँकी रहेको आलेले बताए ।
सबै पालिकामा वैँक स्थापना गर्ने सरकारी निर्देशनपछि सिभिल वैँकले धार्चेको माछाखोलामा शाखा स्थापना गरेको छ । तर इन्टरनेट नहुँदा समस्या भएको वैँकले जनाएको छ ।

इन्टरनेट सेवा नचलेपछि त्यहाँका गैरसरकारी संस्थाहरु पनि नेट सेवा लिनका लागि अन्य पालिका जान बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्