
चुमनुब्रीमा फोटो सहितको मतदाता नामावली संकलन
गोरखाको चुमनुब्री गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन चलिरहेको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावली प्रकाशन गर्न आदेश गरेपछि असार ७ गतेबाट इलाका प्रशासन कार्यालय सिर्दिबाट पनि सुरु भएको हो ।
पछिल्लो चरणको नामावली संकलन कार्यक्रम अन्तर्गत अहिलेसम्म त्यहाँ २८ जना महिला र २३ जना पुरुषले नामवलीमा नाम दर्ता गराएका दर्ता कर्मचारी मनकुमारी गुरुङले बताईन् ।
सुरुको दिनमा १०÷१२ जना पनि आएको र अहिले संख्या केही कम भएको उनले बताए । गाउँपालिकाको केन्द्र र इलाका प्रशासन कार्यालयसँगै रहेकाले त्यहाँ काम लिएर आएका तर नाम दर्ता नगराएकाले पनि फोटो खिचाएका छन् ।
गाउँपालिकामा योजना फरफारक गर्न आउनेहरुलाई पनि अहिले नाम दर्ता गराउन सहज भएको छ । छेकम्पार, सामागाउँ, साम्दो लगायत ठाउँका स्थानीयले पनि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
‘जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा असार १ गतेदेखि नामावली संकलन सुरु गरेको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले बताए । यसपटक अन्यत्र जिल्लाका नागरिकले आफु बसेको ठाउँबाटै आफ्नो नामावली स्थायी ठेगानामै दर्ता गराउन सक्ने आयोगले जनाएको छ ।




