| मङ्लबार, कार्तिक २४, २०८३

बूढीगण्डकीले ५ अर्व ३० करोड मुआब्जा बाँड्यो

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठको मुआब्जा धमाधम बितरण भइरहेको छ । ‘केही दिनयता मुआब्जा रकम पठाईरहेका छौँ’, आयोजनाको मुआब्जा, वातावरण पुनर्वास तथा पुनस्र्थापना इकाईका प्रमुख जगतकुमार श्रेष्ठले भने, ‘अहिलेसम्म करिब चार हजार लाभग्राहीको खातामा रकम गइसकेको छ ।’


इकाईले मंगलवार तेस्रो पटक मुआब्जा रकम लाभग्राहीको खातामा दाखिला गरेको छ । ‘अब जम्मा एक तिहाई भुक्तानी गर्न बाँकी छ’, इकाई प्रमुख श्रेष्ठले भने, ‘केहीदिनमा फेरि पठाउने तयारीमा छौँ ।’ यही असारमसान्तसम्म खर्च गर्नुपर्ने मुआब्जा रकम सबै लाभग्राहीलाई पठाउने गरी आयोजना कार्यालयले काम गरिरहेको उनले बताए । ‘कागजातसम्बन्धी समस्या नभएका लाभग्राहीले पाउने मुआब्जा रकम धमाधम पठाइरहेका छौँ’, इकाई प्रमुख श्रेष्ठले भने ।

जग्गा एउटाको घरगोठ, बोटबिरुवा नापजाँच अर्कोको भएको अबस्था, सार्वजनिक जग्गामा बनाइएका संरचना, भाडामा जग्गा लिएर बनाइएका संरचना भएकाहरुको भने तत्काल आउने संभावना कम छ । अहिले खातामा मुआब्जा रकम गएका हरेक लाभग्राहीले आफ्नो बिवरण हेर्न पाउने ब्यवस्था आयोजना कार्यालयले गर्ने भएको छ । त्यसका लागि इकाईले साउन लागेपछि सहजिकरण गर्न प्राविधिक खटाउने तयारी गरेको जनाएको छ ।


इकाईले यसअघि धादिङ र गोरखातर्फ ४४ हजार नौ सय ८८ रोपनी क्षेत्रफल जग्गाको ३४ अर्व नौ करोड रुपैयाँ मुआव्जा बितरण गरिसकेको छ । घरगोठको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले २०७८ चैत तेस्रो साता मात्रै निर्धारण भएको थियो ।


मुआब्जा निर्धारण भएको दुई महिना भित्रै इकाईले ८० प्रतिशत भन्दाबढि घरगोठ, बोटबिरुवाको मुआब्जा बितरण गरिसकेको जनाएको छ ।
गोरखा र धादिङको सिमानामा रहेको बूढीगण्डकी जलविद्यूत आयोजना १२ सय मेगावाट क्षमताको बनाउने सरकारको योजना छ । यसैसाता मात्रै सरकारले आयोजना कम्पनी मोडलमा बनाउने निर्णय गरेको छ । मोडालिटीको टुङ्गो नलाग्दा अन्यौलमा परेको आयोजनाको अब काम सुरु हुने उर्जा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्