| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको जेठो त्रिभुवन पुस्तकालय स्थानीयको सक्रियतामा पुनर्निर्माण

२०७२ सालको भूकम्पले क्षतिग्रस्त त्रिभुवन पुस्तकालय स्थानीयबासीको सक्रियतामा पुनर्निर्माण भएको छ । गोरखा नगरपालिका वडा नं. ६ तीनधारेमा पुनर्निर्मित तीनतले पुस्तकालय भवनको मंगलबार मेयर कृष्णबहादुर राना मगरले उद्घाटन गरेका हुन् ।

२००८ सालमा स्थापना भएको गोरखाकै जेठो सो पुस्तकालय भवन स्थानीय निर्माण समितिले ४८ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेका हुन् ।

१८ वर्षदेखि लगातार बन्द रहेको सो पुस्तकालयको जीर्ण भवन भूकम्पले पूर्ण रुपमा क्षति भएको थियो । क्षतिग्रस्त सो भवन प्रहरी सेवाबाट निवृत्त भएका डाक्टर राजुबाबु श्रेष्ठ नेतृत्वको टिमले पुनर्निर्माणको पहल सुरु गरेको थियो । भवन पुनर्निर्माणका लागि गोरखा नगरपालिकाले २३ लाख मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठले १० लाख, अशोक श्रेष्ठले पाँचलाख, मोहनलाल श्रेष्ठले पाँचलाख प्रदान गरेका राजुबाबु श्रेष्ठले जानकारी दिए ।

स्थानीय मोहनलाल श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर तीनवर्ष अघिदेखि पुस्तकालय भबन थालिएको थियो । भवन उद्घाटन समारोहमा निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले भवन नयाँ बनेपनि त्यहाँभित्र राख्ने पुस्तक अभाव रहेको बताए । ‘एउटा सानो पाटीसुरु भएको पुस्तकालय जिल्लाकै जेठो हो, अहिले भवन बनाएका छौँ ।

यहाँ किताब भर्न बाँकी छ’, उनले भने, ‘पहिले÷पहिले विद्यालय शिक्षा, लोकसेवा पढ्ने ठाउँ सबैका लागि पुस्तकालय हुन्थ्यो । किताब किन्न नसक्दाको सारथी पुस्तकालय हुन्थ्यो । त्यही आवश्यकताले त्रिभुवन पुस्तकालयलाई बनाइएको हो ।’ अहिले सामाजिक संजालको कुलतबाट बच्न पुस्तकालय सञ्चालनमा ल्याइएको उनले बताए ।

नगरप्रमुख राना मगरले पुस्तकालय संचालन गर्न आवस्यक सहयोग गर्ने बताए । ‘यो क्षेत्र गोरखाको ऐतिहासिक क्षेत्र हो, यसलाई सम्पदा बस्तीको रुपमा बिकास गर्ने तपाईहरुको योजना अनुसार नगरपालिकाले कार्यक्रम बनाएको छ’ उनले भने ।
उपप्रमुख मसलीमाया थोकरले पुस्तकालयले ज्ञानको स्तर बढाउन मद्धत पुग्ने भएकाले अहिलेको पुस्तालाई पुस्तकालयसम्म जाने र अध्ययन गर्ने थलोको रुपमा लैजानुपर्ने बताईन् ।

पूर्व नगर प्रमुख राजनराज पन्तले त्रिभुवन पुस्तकालय गोरखाको एउटा महत्वपूर्ण इतिहास भएकाले यसको संरक्षण गर्न नगरपालिकाले तीनवर्षअघि देखि अग्रसरता लिएको बताए । ‘स्थानीयको सक्रियता नगरको सहयोगले यो भबन बनेको छ, यसलाई संचालन गर्ने स्वामित्व नगरपालिकाले लियो भने सिकाईको केन्द्रको रुपमा बिकास गर्न सकिन्छ’ उनले भने ।

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, दाताहरु राजेशबाबु श्रेष्ठ, अशोकबाबु श्रेष्ठ, द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, पुस्तकालय भवन निर्माणका समन्वयकर्ता डाक्टर राजुबाबु श्रेष्ठ, निर्माण समितिका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

सोही अवसरमा पत्रकार शिव उप्रेतीले पुस्तकालयकालागि केही थान किताब पुस्तकालयलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा दाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

पुस्तकालय संचालन,ब्यवस्थापनका लागि कुशललाल श्रेष्ठको अध्यक्षताममा समिति बनाइएको छ । उक्त समितिले किताब जोहो र त्यहाँको ब्यवस्थापन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

किताब खरिद गर्न केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले एक लाख ५० हजार,लक्ष्मण नेपाली र आमा बा अस्पतालको तर्फबाट एक लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । पुस्तकालयमा लक्ष्मणबाबु स्मृति सदन, मनकुमारी स्मृति कक्ष, राधादेवी स्मृती कक्ष, गोपाल भगिरथी स्मृति सदन बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्