
बारपाक सुलिकोटको स्वाँरामा चितुवा आतंक, गाईबस्तुमाथि आक्रमण बढ्दो
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्वाँरा कालमाटीमा चितुवा आतंक बढेको छ । गएराती चितुवाले स्थानीय भिमबहादुर नेपालीको गोठमा रहेको एउटा पाडो र एउटा भैँसी मारेको छ । बिहान गोठमा गएर हेर्दा पाडापाडी मरिरहेको भेटेको भिमबहादुरले बताए ।
‘चितुवाले आक्रमण गरेको देखिन्छ’ भिमबहादुर छोरा संकर नेपालीले भने ‘त्यही गोठमा अहिले सम्म सातवटा बस्तुभाउ चितुवाले मारिसक्यो ।’ गत असार १७ गते गोरु पनि मारेको थियो । एक वर्ष अघि बाख्रा, गाई पनि चितुवाको आक्रमणबाट मरेको उनले बताए ।
घर भन्दा पर केही कोल्टो ठाउँमा गोठ रहेको र चितुवाले जनावरलाई सँधै रातको समयमा आक्रमण गर्ने गरेको किसान बताउँछन् । धनसिंह गुरुङको खोरबाट बाख्रा पनि बाघले लगेको थियो । चराउन जंगल लगेका बेला पनि बाख्रालाई बाघले आक्रमण गर्ने गरेको स्थानीय बताउँछन् । चितुवाले जनावर माथि आक्रमण गर्ने क्रम बढेपछि स्थानीय पनि त्रसित छन् ।




