| मङ्लबार, कार्तिक २४, २०८३

सोच नेपालको परियोजना समापन : परियोजना टुंगिए पनि अभियान नटुंगियोस्

नागरिक समाजको भूमिका कमजोर भएमा सर्वसाधारणहरु सत्तासीन र कालाबजारीको चपेटामा पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । सोच नेपालले आयोजना गरेको पारस्परिक जवाफदेहिता परियोजना समापन कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिक समाजको भूमिका बलियो नभए सरकार र बजारमा एकाधिकार जम्ने बताएका हुन् । ‘समुदायको विकास र हितका लागि नागरिक समाजको भुमिका बलियो हुन जरुरी छ । नभए शासक र कालाबजारीले सर्वसाधारणलाई दपेट्छन्’, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले भने, ‘शासन सत्तालाई हरेक कदममा खबरदारी गर्न पनि नागरिक समाजलाई बलियो बनाउन जरुरी छ ।’

झण्डै ५ बर्षअघि सुरु भएको पारस्परिक जवाफदेहिता परियोजनाले सुशासन प्रवद्र्धनका क्षेत्रमा गोरखामा सकरात्मक रेखा कोरेको बताउदै मेयर रानाले अभियानलाई अघि बढाउन गोरखा नगरपालिकाले हर तरहबाट साथ र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले नागरिक अभियानले सरकारलाई सहयोग पुग्ने बताएका छन् । शासनमा सुधारका लागि नागरिक समाजस्तरबाट बिभिन्न अभियानहरु सञ्चालन हुनु सकारात्मक पक्ष रहेको बताउदै ढकालले परियोजना समाप्त भए पनि अभियान समाप्त हुन नहुने र यसलाई अघि बढाउने दायित्व स्थानीय तहको समेत रहेको बताएका हुन् ।

गैसस महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठले समाजका हरेक निकायलाई सचेत, जिम्मेवारी वोध र सशक्तिकरण गराउने यो परियोजनाले जिल्लामा नागरिक आन्दोलनको जग बसालेको बताए । स्थानीय तहको नीति निर्माण र कार्यान्वयनदेखि निर्णय प्रक्रियासम्म नागरिकको सहभागिता सुनिश्चित गराउन अभियानको भूमिका महत्वपूर्ण रहेको मानवअधिकार सञ्जाल गोरखाका संयोजक यदु अधिकारीले बताए । परियोजना सकिएपनि यो अभियानलाई जारी राख्नुपर्ने पद्धति विकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछानेले तर्क गरिन् ।

जनताका पिरमर्का र समस्याका बारे नागरिक समाजसंग बसेर छलफल गर्ने र समाधानको लागि पहलदमी लिने वातावरण परियोजनाले बनाइदिएको भन्दै नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले जिल्लामा विकास र जवाफदेहिताका लागि पैरवी र बहस सुरु भएको बताए ।

एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले आवाजविहिनहरुको आवाज बन्न अभियान सफल रहेको बताए । सुशासनमैत्री समाज निर्माणका लागि परियोजनाले सुरु गरेको अभियानलाई लक्ष्यमा पु¥याउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी बहन गर्नुपर्नेमा देवकोटाको जोड छ ।

त्यस्तै गोरखा नगरपालिका वडा नम्बर ८ को स्थानीय सभाका अध्यक्ष भीषण अर्यालले नागरिकको पिडा बोल्न सक्ने भूमिकामा आफुहरुलाई यसै अभियानले पु¥याएको बताए । विकास निर्माणदेखि हरेक वेथिति र विसंगतिका बिरुद्ध नागरिक स्तरबाट निगरानी गर्न र सच्याउन दवाव दिन सक्ने क्षमता स्थानीय सभाले बनाएको शहिद लखन ७ बुंकोटकी विभा राना मगरले बताइन् ।

सोच नेपालले विगत करिब ५ बर्षदेखि पैरवी, सुशासन प्रवद्र्धन, क्षमता विकास, र आन्तरिक सुशासनका क्षेत्रमा बिभिन्न अभियान र गतिविधिहरु सञ्चालन गर्दै आएको जिल्ला प्रतिनिधि मोहसिन अलि मियाँले बताए । परियोजना समापन कार्यक्रममा नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुुवाडीले नागरिक समाजको नेतृत्वमा जिल्लाका भएका पाँच बर्षका गतिविधि र प्रगति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्