
विद्यमान विकासको पद्धतिमा सुधार आओस्
बर्षभरि हात बाँधेर बसेका उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरु यतिबेला विकास निर्माणको काम गर्न हतारिएका छन् । निर्धारित समयभित्र निर्धारित काम सम्पन्न गर्न निर्माण व्यवसायी तथा उपभोक्ता समितिले कामलाई तिब्रता दिएका हुन् ।
अहिले विकास निर्माणको काम जुन गतिमा भएको छ, त्यही गतिमा विकास निर्माणको काम सँधै भइदिए नेपालको विकास टाढा हुने थिएन । विकास निर्माणका लागि असारको जत्तिको गति सँधै भइदिए विश्वका विकसित मुलुककै प्रतिस्पर्धामा हाम्रो देश पनि जाने थियो ।
तर जब साउन लाग्छ, असारमा दौडिएको विकासले थकाइ मार्न थाल्छ । भदौ, असोज, कात्तिक, मंसीरसम्म गतिसुन्य हुन्छ । त्यसपछि बल्ला पुन टेण्डरको चहलपहल सुरु हुन्छ ।
स्वीकृत हुँदा एक, डेढ महिना बित्छ । त्यसपछि राष्टिूय तथा स्थानीय स्तरको विवाद, निर्माण सामग्री अभाव, कार्यालयले साइट नदिनेलगायतका विभिन्न विवादले अर्को केही महिना बिताउँछ । सबै गाँठो फुकेपछि ठेकेदार बेपत्ता, साइटमा आएका ठेकेदारलाई स्थानीय ‘केटाहरु’ले छेकथुन गर्ने गर्दा अर्को केही महिना बित्छ । अनि काम सुरु हुँदा जेठ असार लाग्छ । त्यसपछि हतपत, लतपत गर्दै केही प्रतिशत काम हुन्छ । बिल फस्र्यौट केन्द्रित काम न गुणस्तरको, न दीगो ।
बिगत बर्षौँदेखि नेपालको विकास प्रक्रिया यसरी नै गुज्रिरहेको छ । यसबारे शासकहरु सबै जानकार छन् । कर्मचारी प्रशासक, वडा जनप्रतिनिधि, पालिका जनप्रतिनिधि, प्रदेश सभा जनप्रतिनिधि, प्रतिनिधि सभा जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री सबैले यो अबस्था राम्ररी बुझ्दछन् तैपनि यसलाई सुधार गर्ने प्रयास भएको पाइँदैन ।
यसै देश आर्थिक दृष्टिकोणले गरिब छ, बल्लतल्ल जुटाइएको बजेट पनि यस्तै प्रकृतिको चक्रमा फँसेर सिद्धिन्छ । यही पुनरावृत्ति भइरहेकाले देशको विकास हुन नसकेको हो । यो चक्रलाई सुधार गरेमा हाम्रो देशको विकासमा केही सुधार आउने छ ।




