
गुप्सी बस्तीमा नाला निर्माणको काम ६० प्रतिशत सम्पन्न
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा नाली निर्माण काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । नेपाल सरकारको सात करोड २७ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको नाली निर्माण कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको संघीय आयोजना कार्यान्वयन इकाई पोखराका साइट इन्जिनियर विनोद लुइँटेलले बताए ।
यहाँ घिसिङ खरीढुङा कस्ट्रक्सनले एकवर्ष नाली निर्माण र वाल निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा लिएको थियो । सम्झौता भए अनुसार आगामी पुस मसान्तभित्र सबै काम सम्पन्न गर्नुपर्नेछ ।
अहिले नाला निर्माण र वाल लगाउने काम भइरहेको इन्जिनियर लुइँटेलले जानकारी दिए । बस्तीभित्रका चारवटा ‘सेक्सन’ मा नाला निर्माण र बस्तीमाथि वाल निर्माण कार्य भइरहेको उनको भनाइ छ ।
सबै गरेर करिब ३ हजार घनमिटरको वाल र नाला निर्माण गर्नुपर्ने उनले जानकारी दिए । तर खराब मौसम, दिनदिनै पानी पर्नु र पहिरोका कारण बाटो अवरुद्ध हुँदा आवश्यक सामाग्री ल्याउनलाई समस्या भएको उनले बताए ।
त्यस्तै, नाला निर्माण र वाल निर्माण कार्यमा दैनिक २८ जना स्थानीयहरु खटिदै आएको फिल्डमा खटिएको ठेकेदार जय घलेले बताए । ‘आगामि पुस मसान्तसम्ममा काम गरी सक्नुपर्छ । तर सामान ल्याउने बाटो बन्द छ । त्यहिँमाथि पुस माघमा हिउँ पर्ने अनि असार साउनमा दिनदिनै पानी पर्नाले काम गर्ने पाएको छैन’, उनले भने । दुर्गम भूगोल र खराब मौसमका कारण काम गर्न निकै समस्या हुने गरेको उनले बताए ।
हाल बारपाक–लाप्राक सडकखण्ड बन्द हुँदा आवश्यक सामान ल्याउन समस्या भएको उनको भनाइ छ । त्यस्तै, हाल सबैतिर नाला निर्माणसँगै नालाभित्र प्लमवाल निर्माण भइरहेको उनले बताए । त्यस्तै केही ठाउँमा रिटेनिङ वाल निर्माण गर्न बाँकी रहेको समेत उनले जानकारी दिए ।
०७२ सालको भूकम्पले लाप्राकमा सबैको घर ध्वस्त बनाएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए)ले गुप्सीपाखामा ५ सय ७३ घर निर्माण गरिदिएको हो । घर निर्माण सम्पन्न गरेसँगै एनआरएनएले त्यहाँको सबै पूर्वाधार निर्माणको जिम्मेवारी सरकारलाई सुम्पिएको थियो । सोहि अनुसार सरकारले एकीकृत बस्तीमा हाल नाला व्यवस्थापन, सडक लगायतका भौतिक संरचना निर्माणका कार्य गर्दै आइरहेको छ ।




