| मङ्लबार, कार्तिक २४, २०८३

राष्ट्रिय परिचयपत्र बनाउन बिहान पाँच बजेदेखि लाइनमा

बारपाक सुलीकोट गाउँपालिका ७ पाँचखुवा देउरालीका मीनराज लामिछाने राष्ट्रिय परिचयपत्रको फाराम भर्नका लागि आइतबार बिहान जिल्ला प्रशासन कार्यालय गोरखा आइपुगे । त्यहाँ बुझ्दा बिहे दर्ताको कागज चाहिने र बिहान पाँच बजेदेखि लाइन बस्नु पर्ने भन्ने थाहा पाएपछि त्यसदिन फर्किए । बिहेदर्ताको प्रमाणपत्र बनाएर सोमबार बिहान साँढे आठ बजे प्रशासन कार्यालयको प्रांगण आइपुग्दा प्रशासन कार्यालयको आँगनमा ८७ जना लाइनमा बसिसकेका थिए । कागजपत्र फोटोकपी गरेर लामवद्ध हुन पुग्दा उनी एकसय जनाभन्दा पछाडि परिसकेका थिए ।


‘एकदिनमा एकसय जनाको मात्र फाराम भरिँदो रहेछ, तर म एकसय जनाभन्दा पछाडि परेँ’, उनले भने, ‘त्यसदिन सदरमुकामकै होटलमा बास बसेँ । आज(मंगलबार) बिहान पाँच बजे उठेर लाइन बस्न आएँ । त्यतिबेला आउँदा पनि २० जनाभन्दा पछाडि पुगेछु । जसोतसो फाराम भरेर फर्किएँ ।’

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीका कृष्ण पाण्डे पनि छोराको राष्ट्रिय परिचय पत्र बनाउन सोमबार बिहान नौ बजे कार्यालय आइपुगेका थिए । उनी आइपुग्दा एकसय जना लाइनवद्ध भइसकेकाले फाराम भर्ने प्रयासै नगरी घर फर्किए । ‘आज त बिहान सातैबजे आएर लाइन बसेँ । म लाइनको २१ औँ नंबरमा थिएँ’, उनले भने, ‘तर आज पनि दुर्भाग्यवश १० बजे प्रहरी आएर गेट खोल्यो । त्यसपछि लाइनको केही मतलब नगरी सब जना लडभिड गरी झ्यालमा अर्को लाइन बस्न पुगे । बलियाबाङ्गाहरु अगाडि बस्न पुगे । म २१ नंबरको मान्छे ३५ औँ नंबरमा पुगेँ । मभन्दा पछाडिका महिला, बुढाबूढीहरु उछिनपाछिन गर्न सकेनन् ।

बिहानभर लाइनमा बसेका बिचराहरु आजपनि त्यत्तिकै फर्किए ।’ बिहानभर लाइन बसेर फाराम भर्न नपाई फर्कनु पर्दा उनीहरु बिलौना गर्दै, रुँदै फर्किएको उनले बताए । ‘आज त झन एकसय जनाको पनि फाराम भरेन’, उनले भने, ‘लाइनमा बसेका ९१ जनाको मात्र फाराम भ¥यो । बाँकी नौ जना दिनभर लाइनमा बसेर पनि फाराम भर्न नपाई फर्किए ।’ दैनिक एकसय जनाको फाराम भर्ने नियम बनाएर नियम अनुसार सेवा नपाएको भन्दै सेवाग्राहीले गुनासो गरेका उनले बताए ।

जिल्लाभरको सरकारी कार्यालयमा हुने गरेका बेथितिलाई समेत नियमन गर्ने जिम्मेवार जिल्ला प्रशासन कार्यालयमा दिनहूँ हुने गरेको बेथितिप्रति सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । ‘राष्ट्रिय परिचय पत्र गाउँपालिका अथवा वडा कार्यालयबाटै फर्म भर्ने व्यवस्था भए सेवाग्राहीले दुख पाउनु पर्ने थिएन’, मीनराज लामिछाने भन्छन्, ‘सेवाग्राहीहरु बिहान पाँच बजेदेखि लाइन बस्न आउनु परेको छ । दिनभर लाइन बस्नेहरु पनि रित्तै फर्कनु परेको छ । सोर्सफोर्स लगाउनेहरुले लाइन मिचेर पनि बनाएका छन् । यो त अति नै बेथिति भयो ।’

तर जिल्ला प्रशासन कार्यालयले भने सेवाग्राहीहरु यसरी मरिहत्ते गरेर राष्ट्रिय परिचय पत्र बनाउन आउन जरुरी नभएको तर्क गर्ने गरेको छ । ‘हामीले सक्दो व्यवस्थित बनाउने प्रयास गरिरहेका छौँ’, कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘अर्को महिनादेखि त हामी गाउँ गाउँमा अभियान लिएर जानेछौँ । अति आवश्यक भएकाहरु मात्र आए यत्तिको भीड हुने थिएन ।’

प्रतिक्रिया दिनुहोस्