
शहीदलखनको नीति तथा कार्यक्रम जग्गा बाँझो राख्नेलाई दोब्बर कर
गोरखाको शहीदलखन गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार ११ औँ गाउँ सभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम सार्वजनीक गरेका हुन् । ‘कृषि पर्यटन र पूर्वाधारको दिगोपन : समृद्ध सुसंस्कृत शहिदलखन’ भन्ने नारासहित बिभिन्न क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम तय गरेको हो ।
कृषि नीति अन्तरगत पाँच रोपनी भन्दाबढि जग्गा बाँझो राख्नेलाई भूमिकरमा दोब्बर दस्तुर लिईने, एक वडा एक कृषि उपज संकलन केन्द्रको स्थापना, उत्पादनमा आधारित भई कृषकलाई अनुदान दिने गाउँपालिकाको योजना छ ।
सहकारी नीति अन्तरगत दलित, सीमान्तकृत, अल्पसंख्यक तथा सर्वसाधारण गाउँपालिकाबासी नागरिक माझ सहकारीको पहुँच बिस्तार, श्रमिक तथा पेशाकर्मीहरुको हक अधिकार संरक्षण तथा व्यवसायिकता विकासको लागि श्रमिक सहकारी संस्था स्थापनालाई प्राथमिकता दिईने अध्यक्ष थापा मगरले बताए ।
विभिन्न युद्धकालका शहिद, बेपत्ता तथा घाइते व्यक्तिहरुको सम्मान स्वरुप एक प्रतिष्ठान स्थापन गरिने, लखन किल्लामा प्रथम जनविद्रोहका सबै शहिद तथा योद्धाहरुको संग्रहालय र स्मारक बनाई जनस्तरमा उनीहरुको योगदानबारे परिचित गराउने, होमस्टेहरुलाई प्रोत्साहन, मनकामना मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न आवश्यक पहल गर्ने योजना शहीदलखन गाउँपालिकाको छ ।
गाउँपालिका भित्रका कृषिजन्य वस्तुहरुको उत्पादनलाई प्रशोधन गर्न एक औद्योगिक ग्रामको स्थापना गर्ने, तालिमहरुबाट ब्यबसाय सञ्चालन गरी आफु स्वंयम रोजगार भएका तथा अरुलाईसमेत रोजगार दिएका उद्यमीहरुलाई थप प्रोत्साहन गर्न ब्यक्तिगत तथा सामूहिक अनुदान प्रदान गरिनेछ ।
शिक्षा नीति अन्तर्गत उत्कृष्ट सिकाइ उपलब्धी शिक्षक तथा विद्यालयलाई विशेष अनुदान दिइने, सम्भावना बोकेका कम्तीमा एक सामुदायिक माध्यमिक विद्यालयलाई आवासीय विद्यालय निर्माण गर्न सुरुवात गरिने अध्यक्ष राना मगरले बताए ।
३–४ वर्षका बालबालिका १० जनाभन्दा बढी भई समुदायस्तरमा बालकक्षा सञ्चालन गर्न आवश्यकता देखिएमा स्वयम्सेवक शिक्षक व्यवस्थापन गर्ने, शहिद लखन गाउँपालिकास्तरीय रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिने नीति गाउँपालिकाले लिएको छ ।
कोभिड अस्पताल संचालनार्थ आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधार विकास तथा व्यवस्थापनमा जोड दिइने, स्वास्थ्य संस्थाहरुमा क्रमशः चौबीसै घण्टा स्वास्थ्य सेवा प्रदान गरिने नीति अवलम्बन गरिने, आगामी ३ वर्षभित्रमा २० वर्षदेखि ६० वर्षसम्मका गाउँपालिकाभित्र बसोबास गर्ने सबै महिलाहरुको पाठेघरको क्यान्सरको परीक्षण गर्ने कार्यक्रम शहीदलखन गाउँपालिकाले स्वास्थ्य नीति अन्तरगत तय गरेको छ । गर्भवती तथा सुत्केरी महिलाहरुलाई माथिल्लो संस्थामा प्रेषण गर्दा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ ।
गाउँपालिकास्तरको खेलमैदान निर्माण, श्रमजीवि युवाहरुको पहिचान गरी प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडिने, ल्याण्डफिल्ड साईटको पहिचान गरी फोहोर ब्यवस्थापन गर्ने, हरेक टोलमा ल्याण्डपिmलसाइटको पहिचान गर्ने, व्यवसाय संचालन तथा विस्तारका लागि बीउ पूँजी प्रदान गर्न ‘शहिद लखन युवा स्वरोजगार घुम्ती कोष’ संचालन गर्ने योजना गाउँपालिकाले लिएको छ ।
१८/४० वर्ष उमेर समुहका बेरोजगार युवाहरुलाई कम्तीमा ५० दिन रोजगारी उपलब्ध गराउन ‘शहिद लखन युवा रोजगार कार्यक्रम’ संचालन गर्ने, सडक मापदण्ड र भवन मापदण्ड अनुरुप आनिवार्य रुपमा नक्सापास गरेर मात्रै घरसंरचना निर्माण गर्ने नीति पालिकाले लिने अध्यक्ष थापा मगरले बताए । नगर प्रहरीको प्रहरीको व्यवस्थापन गर्ने योजना शहीदलखनले लिएको छ ।




