| सोमवार, कार्तिक २३, २०८३

जहाँ गाउँबस्तीमा बालबालिका भेटिँदैनन्

चुमनुब्री गाउँपालिका ७ ङाक्यूकी छिरिङ आङ्मो र भाइ छिरिङ लामा सदरमुकामको एक नीजि विद्यालयमा पढ्छन् । उनको घरमा बुबा, आमा मात्र छन् । बर्षमा एकफेर मात्र उनीहरु गाउँघर फर्कन्छन् ।

‘बार्षिक परीक्षा सकेपछि बर्षमा एकफेर मात्र गाउँ जान्छौँ । १०, १५ दिन बसेर फेरि स्कूल फर्कन्छौँ’, उनी भन्छिन्, ‘नर्सरीमा भर्ना भएर पढ्न थालेको हो । अहिले १० कक्षामा पुगेँ । गाउँमा धेरै बस्न पाएको छैन ।’ आफ्नो गाउँमा, बा आमासित बस्न मन लागे पनि स्कूल छाडेर बस्न नमिल्ने उनको भनाइ छ ।

चुमनुब्री २ ल्हीेका निमा वाङ्ग्यालका छ सन्तान छन् । १९ बर्षको एक सन्तान काठमाडौँमा १२ कक्षा पढ्दैछ । १० बर्ष र ८ बर्षका दुईजना पनि काठमाडौँमा पढ्दैछ । १६ बर्ष, १३ बर्षका दुई सन्तान इण्डियामा पढ्छन् । तीनबर्षको काखे बालक मात्र साथमा छ ।
‘इण्डियामा पढेका दुईजनालाई महिनावारी १८ हजारका दरले फिस पठाउनुपर्छ । अरु त नेपालमै स्पोन्सर खोजेर पढेका छन्’, उनी भन्छन्, ‘बालबच्चा काखमा नहुँदा नरमाइलो त हुन्छ नि । तर के गर्ने, छोराछोरी पढाउनु पर्छ भन्छन् । पढाउनका लागि गाउँमा स्कूल छैन ।’ गाउँका सबैको अबस्था यस्तै रहेको उनको भनाइ छ ।

शिक्षाको महत्व बारे जानकारी पाएपछि गाउँलेले दुख सहेर पनि छोराछोरी पढ्न पठाउन थालेको उनको भनाइ छ । ‘पढेकाले राम्रो गरेका छन् । नपढेकाको जिन्दगी हाम्रै जस्तो भीरपाखामा ढुंगामाटो खेलाएर, याकचौँरीसित खेलेर बित्ने भयो’, उनी भन्छन्, ‘त्यसैले आफूले दुख सहेर, ढुंगाको मुटु बनाएर पनि छोराछोरीलाई चार, पाँच बर्षको भएपछि सहरतिर लगेर पढ्न छाड्ने गरेका छौँ । ’

सहरमा पढाउन गुम्बाका लामाले विदेशी दाता(स्पोन्सर) खोजिदिने गर्छन् । ‘स्पोन्सर पाइयो भने आफूले पैसा तिर्नु परेन । नपाउञ्जेलसम्म त तिर्नुपरिहाल्यो’, उनी भन्छन्, ‘स्पोन्सरको सहयोगमा पढेर भविष्यमा राम्रो प्रगति गरेकाहरुले फेरि अरु सानालाई स्पोन्सर गर्ने गर्छन् ।’
गाउँमा विद्यालय नभएपछि चुमनुब्री गाउँपालिकाका अधिकांश गाउँका बालबालिका पढ्नका लागि स्पोन्सर खोज्दै सहर जान बाध्य छन् । काखेबाहेक सबै बालबालिका सहर गएपछि गाउँहरु बालबालिकाबिहिन भएका छन् ।

‘गाउँमा बालबालिका नभएको १० बर्षजति भयो’, अर्का स्थानीय ल्हाक्पो छेवाङ भन्छन्, ‘पहिले गाउँमा जुङ प्रावि भन्ने सरकारी स्कूल थियो । होप एलायन्स भन्ने संस्थाले भवन पनि बनाइदिएको थियो । केटाकेटीहरुलाई खाजा पनि खुवाउँथ्यो । पढ्ने उमेर कटेका तर पढ्न नपाएकाहरुलाई साँझ बिहान पढाइदिन्थ्यो तर पछि के भयो कुन्नि, स्कूल पनि बन्द भयो, संस्था पनि गयो ।’ गाउँमा स्कुले बालबालिका देख्न नपाइने उनको भनाइ छ ।

ल्ही मात्र होइन, चुमनुब्री १ साम्दो, वडा नं. २ ल्हो, स्यो, ल्ही, टोङ, राङ्च्यू, ङिन, छ्योकम, भर्जम, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक, वडा नं. ५ को बिही, क्य्राक, ड्याङ, राना, वडा नं. ६ को लोक्पा, सिम्चेत, चुम्चेत, खारगुम्बा लगायतका दर्जनौँ गाउँमा बालबालिका छैनन् ।

‘बुबा(आमा गुम्बामा छन् । छोराछोरी पढ्न सहर गएका छन् । घरमा त हामी लोग्नेस्वास्नी मात्र हो’, स्योका ४३ बर्षका नाम्ग्याल लामा भन्छन्, ‘हाम्रो मात्र होइन, सबैको त्यस्तै हो ।’ चुमनुब्री गाउँपालिकाको शिक्षा शाखाको तथ्यांकमा पालिकाभरि २१ वटा विद्यालय सञ्चालनमा रहेको देखिन्छ ।

‘इसिडीसमेत गरी हाम्रो पालिकामा २१ वटा विद्यालय सञ्चालनमा रहेको देखिन्छ’, शाखा प्रमुख बलराम पाठक भन्छन्, ‘आवासीय भनेर सञ्चालन भएका विद्यालयमाचाहिँ विद्यार्थी संख्या राम्रै छ तर अरु विद्यालय चलेको भने पनि असाध्यै थोरै दुईचार जना विद्यार्थी छन् ।’ उनका अनुसार साम्दो, क्वाक, क्राकलगायतका गाउँमा इसिडी मात्र छन् ।

‘स्पोन्सर खोजेर सहरतिर, इण्डियातिर पठाउने परम्परा नै छ । स्पोन्सर पाएर सहरमा निशुल्क पढाउन पाउने भएपछि गाउँमा कसले पढाउने ?’, पाठकले भने, ‘म यहाँ आएको पनि दुई बर्ष भयो । अबस्था यस्तै छ ।’

प्रतिक्रिया दिनुहोस्