| मङ्लबार, कार्तिक २४, २०८३

चक्रपथ निर्माणका लागि रुख काटेको आरोपमा पालिका निवर्तमान अध्यक्ष सहित ६ जनालाई पक्राउ पुर्जी

गाउँपालिकाभित्र चक्रपथ निर्माणका लागि सडक ट्रयाक खोल्ने क्रममा रुख काटेको भन्दै बन कार्यालयले छ जनाबिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्ष इश्वर पाण्डेसहित उपभोक्ता समूहका अध्यक्ष राम ढकाल, सचिव हर्कबहादुर खत्री, सहसचिव टेकबहादुर गुरुङ, स्थानीय मानबहादुर गुरुङ र कृष्णबहादुर भट्टबिरुद्ध पुर्जी जारी गरिएको वन डिभिजन कार्यालय गोरखाले जनाएको छ ।


उपभोक्ता समूहका अध्यक्ष राम ढकाल भने पक्राउ परिसकेका छन् । चक्रपथ निर्माणका क्रममा वडा नम्वर ८ स्थित भवानी सामुदायिक वनबाट एक सय ३९ वटा सालको रुख काटेको अनुसन्धान अधिकृत सुरेशकुमार भुजेलले बताए ।

सडक खन्ने क्रममा बिना अनुमति सालको रुख काटेपछि उनीहरु बिरुद्ध मुद्धा दर्ताको तयारी भएको छ । सालको रुख काटेको विषयमा उजुरी परेपछि वन डिभिजन कार्यालयले छानबिन थालेको हो ।


उनीहरुलाई वन ऐन २०७६ अन्तर्गत बिगोको दोब्बर जरिवाना वा दुई बर्ष कैद वा दुवै सजाय हुनसक्छ । समितिका पदाधिकारीको हकमा २० हजार जरिवाना र एक बर्ष कैद सजाय थप हुन सक्ने बताइएको छ । विना अनुमति काटिएका रुखहरुमध्ये केही बरामद गरिएको र केही वन क्षेत्रमै रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्