
महेन्द्र राम्जाली बने वैशाख महिनाको पुलिस अफ द मन्थ
जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत महेन्द्र राम्जाली वैशाख महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् । स्थानीय तह निर्वाचनमा उनले खेलेको अतुलनीय भूमिकालाई मध्यनजर गरी प्रहरी हवल्दार राम्जालीलाई पुलिस अफ द मन्थ घोषणा गरिएको डिएसपी रामजी लामिछानेले जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत निर्वाचनको प्रारम्भिक चरणदेखि नै निर्वाचन सेलमा रही म्यादी प्रहरी छनौट एवं परिचालनमा उहाँले खेलेको भूमिका उल्लेखनीय रह्यो’, डिएसपी लामिछानेले भने, ‘विभिन्न कार्यालयहरुबाट थप मद्दत स्वरुप खटिई आएका प्रहरी कर्मचारी हरुलाई प्रभावकारी तवरले परिचालन गर्नका लागि पनि उहाँको भूमिका प्रसंसनीय रह्यो ।
साथै निर्वाचन सम्बन्धी अभिलेखलाई दुरुस्त राख्ने एवं तालुक कार्यालय हरुसंग समन्वय गरी तोकिएको समयमा जाहेर गर्ने लगायतका विविध जिम्मेवारीहरुलाई त्रुटिरहित तवरले सम्पन्न गर्नुभयो ।’ अन्य समयमा समेत शाखाको जिम्मेवारीलाई ईमान्दारी, वफादारीका साथ विभागीय काम गरेको उनले बताए ।
जिल्लाभित्र कार्यरत प्रहरीमध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालयले प्रोत्साहन स्वरुप निरन्तर पुलिस अफ द मन्थ घोषित गर्दै पुरस्कृत र सम्मान गर्ने गरेको छ ।
पुरस्कृत प्रहरी हवल्दार राम्जालीलाई बिहिबार एक कार्यक्रमका बीच कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनालले प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद एकहजार पुरस्कारसहित पुलिस अफ द मन्थ घोषणा गरेका थिए ।




