
बाढी, पहिरोको बितण्डा : पालुङ्टारमा घर, पुल र हजारौँ रोपनी खेत बगायो

बिहिबार रातभरको बर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ । वडा नं. ९ मा मोटरेबल पुल र हजारौँ रोपनी खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।

पालुङटार ६ कल्लेरीमा पहिरोले स्थानीय केशरबहादुर थापाको घर बगाएको छ । घरबास बिहिन भएपछि थापाको परिबार नजिकै त्रिपाल टाँगेर बसेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यहाँका आठ घर पहिरोले क्षतिग्रस्त छन् । सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पु¥याएको प्रहरीको भनाइ छ । त्यस्तै छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले चारघर उच्च जोखिममा रहेको वडाअध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए । जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको उनले बताए ।

त्यस्तै पालुङ्टार ९ जोगीबेशीको राममाया कुँबरको घर स्थानीय खहरेखोलाले क्षतिग्रस्त बनाएको छ । उनको परिबार पुरानो बस्तीस्थित घरमा सरेको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार स्थानीय चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा रहेको छ । सो खोलाको बाढीले जोगीबेशीदेखि विर्दीसम्मको करिब पैँतीससय रोपनी खेत बाढीले बगाएको उनले बताए । भित्र्याउने बेला भएको बर्खेधान(जुडीधान) र रोपाइँको तयारी भइरहेको फाँट बाढीले बगाएपछि किसान चिन्तित छन् ।

अँबुवा, बिर्दी, सेरा सडकमा रहेको बिर्दीपुल चुती खोलाको बाढीले बगाएको छ । सो ठाउँठाउँमा झरेको पहिरोले सो सडक अवरुद्ध भएको उनले बताए ।
त्यस्तै पहिरोले बारकिलो बारपाक सडक पनि अवरुद्ध भएको छ । सिरानचोक गाउँपालिका वडा नं. ७ र ८ स्थित बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको प्रहरी कार्यालयले जनाएको छ । कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।





