
शहीदलखनमा कृषि क्षेत्रमा युवाको सहभागीता अभियान बिषयमा छलफल
गोरखाको शहीदलखन गाउँपालिकामा कृषि क्षेत्रमा युवाको सहभागीता अभियान बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत दायित्व नेपालको आयोजनामा मंगलबार गाउँपालिकाको कार्यालयमा सरोकारवालाहरुका वीच छलफल भएको हो ।
“कृषि उत्पादनमा बृद्धि, शहिद लखनको समृद्धि “भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा दिनप्रतिदिन युवाहरु विदेश पलायन हुने क्रम बढेको भन्दै त्यसलाई रोक्न आधुनिक कृषि प्रणालीको विकास गर्न पालिकाले प्रष्ट कार्ययोजना ल्याउनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
वास्तविक किासनका लागि सरकारले दिने अनुदान र सहयोगका कार्यक्रम ‘आकाशको फल आँखा तरी मर’ भन्ने सावित हुने तर्क गर्दै स्थानीय दिनेश कुमार श्रेष्ठले काम गर्न चाहाने युवा र किसानको उत्थानमा पालिकाले स्पष्ट कार्ययोजना ल्याउनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय कृषक समुह महासंघ गोरखाका अध्यक्ष अमृत श्रेष्ठले किसानले धेरै समस्या भोगिरहेको गुनासो गरे । समयमै बिउविजन, मल, बजार, अनुदान, सिंचाई लगायतको अभाव रहेको भन्दै उनले तत्काल विकल्प खोज्न आवस्यक रहेको बताए । साथै उनले किसानको वर्गिकरण गरी परिचयपत्र वितरण गर्न समेत माग गरेका छन् ।
पालिकासंग किसानको संख्या, अवस्था लगायतको तथ्यांक नै नभएकाले योजना बनाउन समस्या भएको भन्दै जगदिश किरण रेग्मीले तत्काल तथ्यांक संकलन गरी ब्यवस्थित गर्न माग गरेका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले भुगोल र सिमित स्रोत साधनका बाबजुद सोचे अनुसार कृषि क्षेत्रको विकास हुन नसकेका बताए । अघिल्लो पाँच बर्षे कार्यकालमा कृषि क्षेत्रको विकास र बजारीकरण आफ्नो प्राथमिकता रहेको बताउदै थापाले किसान अनुदानको मात्रै पछि लाग्नुभन्दा पनि आफ्नो पेशालाई दिगो बनाउन तिर लाग्नुपर्ने तर्क गरे । मल अभावको समस्या राष्ट्रिय समस्या रहेको बताउदै उनले चाहेर पनि त्यो समस्या हल गर्न पालिका असमर्थ रहेको बताए ।
त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले मगरले किसानमा समेत लगनशिलता, प्रतिवद्धता र इमान्दारिता हुनुपर्ने बताए । अनुदान पाए मात्रै उत्पादन गर्ने प्रवृत्ती हावी हुँदा समस्या भएको उनको तर्क छ ।
कार्यक्रममा पालिकाको कृषि शाखाका प्रमुख ऋृषि रोकाले उत्पादनमा आधारित अनुदान सहयोग गर्ने तर्फ पालिका अघि बढेको जानकारी गराए । कार्यक्रमको सहजीकरण दायित्व नेपालका राजेश श्रेष्ठले गरेका थिए ।
शहीदलखन गाउँपालिका अध्यक्ष रमेश बाबू थापा मगरको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत श्री जीवन बहादुर आले मगर, कृषि शाखाका प्रमुख श्री ऋषि रोका, सोच नेपालका जिल्ला प्रतिनिधि मोहसिन अलि मियाँ, राष्ट्रिय कृषक समूह महासंघ गोरखाका अध्यक्ष अमृत श्रेष्ठ, पशु तथा कृषि शाखाका कर्मचारी लगायत शहिद लखन गाउँपालिका भित्र विभिन्न वडाहरुमा कृषि तथा पशुपंक्षि फर्म संचालकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।




