| मङ्लबार, कार्तिक २४, २०८३

बसपार्कको होलिडे रेष्टुरेन्ट र होण्डा सोरुमको शौचालय सार्वजनिक रुपमा खुल्ला

होन्डा शोरुमले गोरखासहित देशभरका एकसय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ । शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न पाउने भएका छन् ।

गत शुक्रबारदेखि शोरुम, डिलर र सबडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा दिइएको कम्पनीले जनाएको छ । कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाहको एजेन्डालाई समर्थन गर्दै यो सुविधा सुरू गरेको हो । मेयर शाहले काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा छ वटा प्रस्ताव पढेर सुनाएका थिए । जसमध्ये एजेन्डाको चौथो बुँदा सार्वजनिक शौचालयको व्यवस्थाबारे थियो ।

काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय भएको छ । यससँगै काठमाडौंका केही होटल तथा रेष्टुरेन्टहरुले पनि आफूसँग भएका शौचालयहरुलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् ।

त्यस्तै, गोरखा नगरपालिका–६ बसपार्कमा रहेको होलिडे बार एण्ड रेष्ट्रोले पनि निशुल्क रुपमा सार्वजनिक शौचालय सेवा शुरु गरेको छ । होटलमा रहेको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले निशुल्क प्रयोग गर्न मिल्ने व्यवस्था मिलाइएको उक्त होटलले जनाएको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर शाहको समर्थनमा मंगलवारबाट निशुल्क शौचालय सेवा शुरु गरिएको रेष्टुरेन्टका संचालक निरोज कट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस्