| मङ्लबार, कार्तिक २४, २०८३

मानव र वज्यजन्युको द्वन्द्व घटाउन सामुदायिक वनमा पोखरी निर्माण

गोरखाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक वनमा ६ वटा पोखरी निर्माण गरिएको छ । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि भन्दै जिल्लाका सामुदायिक वनहरुमा पोखरी निर्माण गरिएको हो ।

जिल्लाका चार वटा पालिकाका ६ वटा सामुदायिक वनमा पानी पोखरी निर्माण भएको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत महेश पौडेलले बताए । गोरखा नगरपालिका–१० वीरेन्चोकस्थित वीरेन्द्र सामुदायिक वन, वडा नं ११ मा रहेको बडहरेपाखा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

त्यस्तै, पालुङटार नगरपालिका ९ मा रहेको दरौदीडाँडा सामुदायिक वन, गण्डकी गाउँपालिका ८ मा रहेको चित्रादेवी सामुदायिक वन र भीमसेन थापा गाउँपालिका–१ को चण्डीथान र वडा नं ६ मा रहेको बरबोट सामुदायिक वनमा पोखरी निर्माण भएको उनले बताए । चालु आर्थिक बर्षको हालसम्म पाँच वटा पोखरी निर्माण सम्पन्न भइसकेको र एउटा पोखरी निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए ।

एक सामुदायिक वन एक संरक्षण पोखरी कार्यक्रम अन्तर्गत अहिलेसम्म जिल्लाका विभिन्न पालिकाका १५ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको सहायक वन अधिकृत पौडेलले बताए ।

जिल्लामा सामुदायिक वनहरुमा आवश्यकता र प्राथमिकताका आधारमा प्रत्येक वर्ष ५ भन्दा बढी पानीको पोखरी निर्माण गर्दै आएको कार्यालयले जनाएको छ । लम्बाइ १३ मिटर र चौडाई ६ फिट र एक मिटर गहिराई भएको पोखरी निर्माण गर्ने गरेको वन अधिकृत पौडेलले बताए ।

उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहको २० प्रतिशत र डिभिजन वन कार्यालयबाट एक लाख अनुदान लागतमा पोखरी निर्माण हुने गरेको छ । स्थानीय तहले जताततै सडक खन्ने क्रम जारी रहेको र यसले वनजंगलमा रहेका पानी मुलहरु नासिदै गएको उनका भनाइ छ । त्यसैले बन्यजन्तुको बासस्थान रहेको स्थानको पहिचान गरी पोखरी निर्माण गर्ने गरेको उनले बताए ।

सामुदायिक वनमा पोखरी निर्माण हुदाँ पानीको स्रोत संरक्षण हुने र वन्यजन्तुलाई पानी पिउन र वनमा डँढेलो लाग्दा आगो नियन्त्रण गर्न धेरै सजिलो हुने उनले जानकारी दिए ।
यसका लागि सामुदायिक वन संचालकहरुले वन कार्यालयमा दिएको निवदेनका आधारमा कार्यालयबाट प्राविधिकहरु सम्बन्धित स्थलमा पुगेर पोखरी निर्माण गर्न उपयुक्त ठाउँ हो होइन चेकजाँच गर्ने गर्दछन् । त्यसपछि मात्र पोखरी निर्माणका लागि अनुमति दिने गरेको छ ।
गोरखाको तल्लो क्षेत्रमा मानव र बन्यजन्तुबीच बढी द्वन्द्व भएको यहाँका सामुदायिक वनमा पोखरी निर्माणमा बढी जोड दिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्