| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा बजार र बारपाकको ढल ब्यवस्थापन गर्न ‘मेगा प्रोजेक्ट’

गोरखा बजार क्षेत्र र बारपाक ठूलोगाउँको ढल ब्यवस्थापनका लागि ‘मेगा प्रोजेक्ट’ संचालन प्रक्रिया सुरु भएको छ । यी दुबै ठाउँका ढलको दीर्घकालीन ब्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गर्ने गरी संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले काम थालेको हो । गोरखा बजार र बारपाकको ढल तथा प्रशोधन आयोजना निर्माण हुने भएको हो ।

‘गोरखा बजार र बारपाकको ढल ब्यवस्थापनका लागि टेण्डर आह्वान भईसकेको छ’, आयोजना कार्यालय लमजुङका प्रमुख शेखरचन्द्र केसीले भने, ‘गोरखा बजारको ५४ र बारपाकको करिब ३४ करोड रुपैयाँमा ठेक्का आह्वान भएको छ ।’ जेठ १ गते आयोजना कार्यालयले सूचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेको जनाएको छ । ‘टेण्डरको प्रक्रिया पूरा गरेर निर्माण कम्पनी छनौट गरेपछि काम सुरु हुनेछ ।’

गोरखाको सतिपिपलदेखि आहालेसम्मको बस्तीलाई ढल ब्यवस्थापनमा समेट्ने योजना रहेको इन्जिनियर सन्तोष पोखरेलले बताए । ‘अहिले बजारक्षेत्रलाई केन्द्रित गरेर टेण्डर आह्वान गरिएको हो’, उनले भने । अहिले नाली खोल्सीमा फालिएको ढल पाईपलाईनबाट एकैठाउँमा जम्मा गरिन्छ । एकै ठाउँमा जम्मा भएको ढल गोरखा नगरपालिका भन्दा तल वडा नम्बर ८ र ९ को सिमानामा प्रशोधन गरिन्छ । फोहोर प्रशोधन ‘प्लान्ट’ निर्माण गर्न गोरखा नगरपालिकाले जग्गा उलब्ध गराउने छ । करिब १० रोपनी जग्गा नगरपालिकाले उपलब्ध गराउने गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताए ।

प्लास्टिकको पाईपबाट ढल संकलन गरेर प्रशोधन गरिन्छ । ढललाई पानीमा मिसाउन योग्य बनाउने गरी ‘प्लान्ट’ ले काम गर्छ । ढल प्रशोधन गरेपछि बजार, बस्ती क्षेत्रको दुर्गन्ध हटाउन मद्धत पुग्छ । भौगोलिक अवस्थाका कारण भने ढल ब्यवस्थापनको योजना पूरा गर्न सहज छैन । पाईपलाईनका कारण सडक संरचना भत्कने खतरा रहन्छ । ‘निर्माणका क्रममा भत्किएका संरचना परियोजनाले निर्माण गर्छ’, इन्जिनियर पोखरेलले भने ।

अहिले जोडिएको पाईप लाईनमा पछि बनेका घरहरुको पनि ढल मिसाउन मिल्ने गरी तयार गरिनेछ ।
बारपाक वडा नम्बर १ र २ को मुख्य बस्तीबाट संकलन भएको ढललाई प्रशोधन गर्नेगरी योजना बनेको छ । बाक्लो बस्ती रहेको त्यहाँ ढल ब्यवस्थापन नगर्दा दुर्गन्धसँगै महामारीको खतरा रहेकाले पनि बारपाक प्राथमिकतामा परेको हो । गोरखा र बारपाकमा बन्न लागेको ढलमा बर्षातको पानी भने मिसाईँदैन । वर्षातको पानी पाईपले थेग्न नसक्ने भएकाले त्यसको ब्यवस्थापन चुनौति हुन सक्ने भएकाले ढलको पानी मात्रै ब्यवस्थापन गरिने प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्