
गोरखामा हिमाल आरोहणको कीर्तिमान
केहीबर्ष यता गोरखाली आरोहीले हिमाल आरोहणसम्बन्धी विभिन्न कीर्तिमानीहरु कायम गरेका छन् । दक्षिण एशियाकै पहिलो अन्तर्राष्टिूय हिमाल आरोहण पथप्रदर्शक सुनार गुरुङ गोरखाकै हुन् ।
शेर्पाबाहेक अन्य समुदायबाट सगरमाथा आरोहण गर्ने महिलाका रुपमा छेकम्पारकी फुञ्जो लामाले अर्को कीर्तिमान कायम गरिन् । उनले गतबर्ष सबैभन्दा छोटो समयअवधिमा सगरमाथा आरोहण गरेर गिनिजबुकमा नाम लेखाइन् ।
यसबर्ष आरुघाटकी पूर्णिमा श्रेष्ठले अर्को कीर्तिमान कायम गरिन् । नेपालमा रहेका आठहजार मिटरभन्दा अग्ला हिमाल नेपालतर्फबाट आरोहण गर्ने शेर्पा समुदाय भन्दा बाहिर अन्य समुदायको प्रथम महिलाको रुपमा उनले कीर्तिमानी कायम गरिन् ।
त्यस्तै अर्को कीर्तिमानी लाप्राकका युक्त गुरुङले कायम गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा छ पटक आरोहण गरेर शेर्पासमुदाय भन्दा बाहिर अन्य समुदायका धेरै पटक सगरमाथा आरोहण गर्ने प्रथम आरोहीको रुपमा उनले कीर्तिमानी कायम गरेका हुन् ।
हिमाल आरोहण गर्नु पुरुषार्थी काम हो । कोही साहसीले सगरमाथा आरोहण गर्छु भन्दैमा सजिलै आरोहण गर्न सक्दैन । आर्थिक व्यवस्थापन गर्न धेरै कडा चुनौति हुन्छ । सम्पत्तिवालले पनि हिमाल आरोहण गर्छु भन्दैमा सक्दैन । पर्याप्त हिम्मत, साहस, सीप चाहिन्छ ।
हिमाल आरोहण गरेर मात्र पनि ख्याति कमाइन्न । सगरमाथा आरोहण गर्नेको संख्या त हजारौँ पुग्यो, तर कुनै न कुनै रुपमा अद्वितीय ढंगले आरोहण गरेर ख्याति कमाउन सक्नु पर्छ । सामान्य आरोहण त जो कोहीले गर्छ, त्यही काम फरक ढंगले गरेर कीर्ति राख्न सक्नुपर्छ ।
सगरमाथा आरोहण गर्नु कुनै पेशा,व्यवसाय होइन, जसले जीविकोपार्जन गर्न सकियोस्, बरु लाखौँ खर्च हुन्छ, जुन जो कोहीले व्यवस्था गर्न कठिन छ । यी तमाम चुनौति सहेर पनि आरोहणका क्षेत्रमा कीर्तिमानी कायम गर्नु प्रसंसनीय काम हो ।




