| सोमवार, कार्तिक २३, २०८३

ज्येष्ठ नागरिकका लागि प्रसंसनीय कार्य

मनमोहन अधिकारी प्रधानमन्त्री छँदा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रम ल्याएर पहिलो पटक ज्येष्ठ नागरिकलाई सम्बोधन गरेका थिए । यो कार्यक्रम यति धेरै लोकप्रिय, यतिविघ्न प्रसंसित र अजर, अमर रह्यो कि अहिलेसम्म ज्येष्ठ नागरिकको भोट तान्ने एउटा राम्रो एजेण्डा यही बनेको छ ।

दुईबर्षअघि सरकारले ज्येष्ठ नागरिकलाई सन्तानको कमाइको १० प्रतिशत तलब हकभोग गर्न पाउने निर्णय गरेको थियो । यो निर्णय भने व्यवहारिक बनेको देखिएको छैन । जे होस्, उचित अबसरमा यही निर्णयलाई टेकेर ज्येष्ठ नागरिकले आफ्नो जीवन गुजारा गर्न पाउने अबस्था बन्ने विश्वास लिन सकिन्छ ।

अहिले विभिन्न स्थानीय तहहरुले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । विशेषगरी गोरखा नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानार्थ विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । केहीदिनअघि गोरखा नगरपालिकाले महादेवपार्क(रानीपोखरी परिसर)मा रहेको सोह्रखुट्टे पाटीमा ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिकासित सहयोग लिएर ज्येष्ठ नागरिक जिल्ला संघले सो दिवा सेवाकेन्द्र स्थापना गरेको हो ।

त्यहाँ ज्येष्ठ नागरिकहरु भेला हुने, भजन, कीर्तन गर्ने, पुराना दिनका स्मरण गर्ने, सुन्ने, सुनाउने वातावरण मिलाइएको छ । त्यस्तै टिभी हेर्ने, चिया विस्कुट खाने लगायतका सेवा सुविधा सो दिवा सेवाकेन्द्रमा उपलब्ध छ । मान्छेको जन्म बरु निश्चित छैन, तर मृत्यू निश्चित छ । जन्मिएपछि बीचैमा दुर्घटनाबाट वा रोगका अकालमा कारण मृत्यू नभए, वृद्ध हुनु निश्चित छ । बाल्यकाल, युवाबय जति सहज छ, वृद्धबय अति जटिल छ । त्यसलाई सुखद बनाउन हर तरहरले सबको ध्यान, मन चाहिन्छ ।ज्येष्ठ नागरिक जिल्ला संघले जे गरेको छ, नगरपालिकाले जसरी सहयोग गरेको छ, त्यो अति प्रसंसनीय छ ।

प्रतिक्रिया दिनुहोस्