
लाप्राकका पुरबहादुर ६ पटकसम्म सगरमाथाको शिखरमा, १५ दिनमै दुईपटक आरोहण
केशव गुरुङ :
सगरमाथा आरोहण गर्न त्यति सहज छैन । त्यसमाथि एक, दुई पटक होईन छ पटक सगरमाथा आरोहण गर्न सफल भएका छन्, गोरखा लाप्राकका पुरबहादुर (युक्त) गुरुङ ।
धार्चे ४ लाप्राकका ३३ वर्षीय गुरुङले हाल सम्म ६ पटक सगरमाथा आरोहण गरिसकेको छन् । उनले केही दिन अघि १५ दिनको अन्तरमा दुई पटक सगरमाथा आरोहण गरे । गुरुङले मे १५ र २७ मा सगरमाथाको सफल आरोहण गरेका हुन् । गुरुङ समुदायको तर्पmबाट धेरै पटक सगरमाथा चढ्ने आरोहीमा आफू रहेको उनले दाबी गरे । सगरमाथा सँगै गुरुङले गोरखामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल र सोलुखुम्बुमा रहेको छ हजार आठ सय १२ मिटरको आमादब्लम हिमाल आरोहण गरिसकेका छन् । यीबाहेक उनले हालसम्म छ हजार भन्दा माथिका दुई दर्जन भन्दा बढी हिमाल चढिसकेको बताए । उनका अनुसार विदेशमा सात हजार भन्दा माथिका ५÷६ पटक आरोहण गरिसकेका छन् ।
सन् २००५ बाट भरिया हुदै पर्यटन क्षेत्रमा लागेका उनले सन् २००९ बाट हिमाल आरोहणको यात्रा सुरु गरेका हुन् । गाउँका अगुवाहरुसँगै आफ्ना साथीभाइहरु सबै हिमाल आरोहण क्षेत्रमा लागेकाले आफु पनि यो क्षेत्रमा आबद्ध भएको गुरुङ बताउँछन् । सोलुखुम्बुमा रहेको ६ हजार १ सय ६० मिटर अग्लो आइसल्याड पिकबाट हिमाल आरोहण यात्रा सुरु गरेको बताए । उनी अहिले टे«किङ एजेन्सीमार्पmत नेपालमा हिमाल आरोहण गर्न आएका विदेशी पर्यटकहरुलाई हिमाल चढाउने गाईडको रुपमा काम गर्छन् । युरोप र एसियाली देशका पर्यटकहरुलाई हिमाल आरोहणमा सघाउँदै आएको उनले बताए । अन्र्तराष्ट्रिय माउन्टेण गाइड बन्ने लक्ष्य राखेका गुरुङ हिमालय पथ प्रदर्शक रुपमा काम गर्दै आइरहेका छन् ।
आगामी जुन ७ मा पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो माउन्ट केटु आरोहणका गर्ने तयारीमा रहेको उनले बताए ।
हिमाल चढ्नु चुनौतीसँगै जोखिम मल्ने पेशा हो । हिमाल आरोहणको क्रममा चिसो हावा, अस्थिर हिउँका चट्टान र हिमपहिरो झेल्नुपर्ने हुन्छ । यसमा शारीरिक र मानिसक रुपमा बलियो हुनका साथै आरोही क्षेत्रमा अनुभव प्राप्त गरेको हुनुपर्ने उनी बताउँछन् । त्यसैले पनि हिमाल आरोहण गर्नु साहसीसँगै जोखिम पनि छ । हिमाल आरोहण गर्दा जोखिम भन्दा पनि रमाउने बानी परिसकेको बताउँदै उनले हिमाल आरोहणमा आउने कठिनाइ सामान्य लाग्न थालेको बताए । नेपालमा यसअघि हिमाल आरोहण क्षेत्रमा शेर्पाहरुको वर्चस्व थियो । पछिल्लो समयमा गुरुङ समुदायका युवाहरुको आकर्षण पनि बढ्न थालेको छ ।
गण्डकी प्रदेशमा पर्वतारोहणको विकास गर्ने उद्देश्यका साथ गठन भएको गण्डकी अल्पाइन क्लवको उनी कोषाध्यक्ष हुन् । त्यस्तै, मनास्लु फाउण्डेशनका सचिव, स्वीट नेटवर्कका संचालक हुन् ।




